PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

बाढीबाट सप्तरीका एक हजारभन्दा बढी घर डुवानमा, ४ सय परिवार विस्थापित



रासस

बाढीबाट सप्तरीका एक हजारभन्दा बढी घर डुवानमा, ४ सय परिवार विस्थापित

सप्तरी : अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको भीषण बाढीले सप्तरीका एक हजारभन्दा बढी घर डुबानमा परेका छन्। 

बाढीबाट विभिन्न गाउँका करिब चार सय परिवार विस्थापित भएको प्रहरीले जनाएको छ। खाँडो, जिता, मोहुली बिहुल र त्रियुगालगायत नदीमा आएको बाढीका कारण जिल्लाको दक्षिणपूर्वी र पश्चिमी भेकका गाउँपालिका र नगरपालिकाका घर डुबानमा परेका हुन्। 

राजविराजको मुख्य बजार क्षेत्रमा समेत तीन फिटसम्म पानी जमेको छ। सप्तकोशी नदीमा जलस्तर बढ्दै गएपछि कोशी ब्यारेजको ३३ ओटा ढोका खोलिएको छ। टापुमा अवस्थित गोबरगाढा बस्तीमा पानी पसेपछि स्थानीयबासिन्दा सुरक्षित गन्तव्यतर्फ जान थालेका छन्। 

बाढीको प्रवाह नरोकिएकाले पीडितलाई थप समस्या भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार तिलाठी कोइलाडी गाउँपालिका–५ कुशहा र बनरझुलाको वस्तीमा जिता नदीको बाढी पसेका कारण ३५० परिवार घर छाडेर सडक तथा सुरक्षित ठाउँमा बसेका बताइएको छ। 

त्यस्तै कोशीको बाढी पसेर हनुमाननगर कंकालनी नगरपालिका–७ र १४ को रमपुरा मल्हनियाँ र कोइलाडी तिलाठी गाउँपालिकाको तिलाठीमा ३१० घर डुबानमा परेको छ भने ५० परिवार विस्थापित भएका छन्। यसैगरी तिलाठी कोइलाडी, सकरपुरा र बेल्हीको करिब ४०० घरमा बाढी पसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

यस्तै राजविराज नगरपालिका–१० विरौल गाउँ नजिक बाढीले बाँध भत्काउँदा डुमरी, शिवथान, देउरीभरुवा, पकरीसहितका वस्ती बाढीको उच्च जोखिममा परेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell