PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

विराटनगर महानगरपालिकामा ४ सय ५० घर विस्थापित, विमानस्थलमा जम्यो २ फिट पानी



अनन्तराज न्यौपाने

विराटनगर महानगरपालिकामा ४ सय ५० घर विस्थापित, विमानस्थलमा जम्यो २ फिट पानी

विराटनगर : विराटनगरको पश्चिम सिमानाको केसलिया र पूर्वी सिङ्गिया नदीमा आएको बाढी बस्तीमा पसेपछि महानगरपालिकाका ४ सय ५० घरपरिवार विस्थापित भएका छन्।

केसलिया नदीको बाँध फुटेर बस्तीमा पानी पसेपछि विराटनगर वडा नं. ११, १२ र १३ का ३ सय घरपरिवारले शनिबार बिहानदेखि नजिकको सरकारी विद्यालयमा आश्रय लिएका छन्।

त्यस्तै पश्चिमतर्फको सिङ्गिया खोलाको बाढीले वडा नं. १ र २ का १ सय ५० घरपरिवारले नजिकको व्यवस्थापन क्याम्पस र सरकारी विद्यालयमा आश्रय लिइरहेका छन्।

सबै विस्थापितले आआफ्ना घरका मालसामान, वस्तुभाउ र बालबच्चालाई सुरक्षित स्थानमा रहेको प्रहरीले जनाएको छ। 

अविरल वर्षाका कारण विराटनगर महानगरपालिका जलमग्न भएको छ।

महानगरपालिको अधिकांश बस्ती र मुख्य राजमार्गसमेत डुबानमा परेका छन्। रातिदेखि नै नेपाल टेलिकमको सेवा अवरूद्ध भएपछि नगरवासी थप समस्यामा परेका छन्। टेलिकमको सेवा अवरूद्ध बनेपछि क्षतिका विवरण आउन सकेको छैन्।

महानगरपालिकामा निर्माणाधीन अवस्थाका सडक र ढलनालाका कारण नगरका विभिन्न वस्तीका घरघरमा पानी पसेको छ।

ढलनाला निर्माणका लागि ठुला–ठुला खाल्डो खनेर त्यत्तिकै छाडिएकाले पानी जमेर थप खतरा बढेको हो। पानीको निकास नहुँदा मुख्य राजमार्गलगायत वजार क्षेत्र डुवानमा परेको हो।

ढलको याथोचित व्यवस्थापनाका अभावमा वजार क्षेत्रका धेरैजसो स्थान जलमग्न बनेका छन्। अधिकांश भित्री सडक जलमग्न भएका कारण हिँडडुल गर्नसमेत समस्या भएको छ।

मोरङका प्रहरी प्रमुख अरुण बिसीले हिजो साँझबाट परेको पानी अहिलेसम्म नरोकिँदा विराटनगर क्षेत्र जलमग्न भएको जानकारी दिए। विराटनगरका कतिपय स्थानमा  मानिसलाई समेत उद्धार गर्नु पर्ने अवस्था सृजना हुन लागेको उनको भनाइ छ। मोरङका अधिकांश स्थान जलमग्न भएको प्रहरीले जनाएको छ।

विमानस्थल पनि जलमग्न

पानीका कारण विराटनगर विमानस्थल पनि जलमग्न भएको छ। विमानस्थलमा २ फिट पानी जमेको छ। शनिबार कुनै उडान हुन नसक्ने उड्डयन कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell