
काठमाडौं : शनिबार लगातार दुई खेल जितेपछि नेपालका दुई राष्ट्रिय क्रिकेट पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार्स सिंगापुरमा भइरहेको पाँचौ एसीसी टी-२० टुनामेन्टको सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार भएको पहिलो खेलमा हार बेहोरेको सिंगापुर इमर्जिङ स्टार्सले शनिबार अष्ट्रेलियाको मेलवर्न क्रिकेट क्लब र हङकङको ७ राष्ट्रिय खेलाडी रहेको क्वोलुन क्रिकेट क्लबलाई हरायो।
पारस खड्काले अलराउण्ड प्रदर्शन गरेको पहिलो खेलमा सिंगापुर स्टार्सले मेलवर्न क्लबलाई डिएल मेथडमा २९ रनले हराएको थियो।
दोस्रो खेलमा क्वोलुनलाई ६३ रनले हरायो। १९१ रनको लक्ष्य पछ्याएको हङकङको क्लबलाई निर्धारित १७ ओभरमा १२८ रनमा रोक्दै सिंगापुर स्टार्लसे दोस्रो जित हात पारेको हो।
इन्डियन एसोसिएसन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुर स्टार्सले घटाइएको १७ ओभरमा ६ विकेट गुमाउँदै १९० रन बनाएको थियो। उसका लागि क्षितिज सिन्देले ३१ नटआउट ७१ रन बनाए। ३१ बल खेलेका सिन्देले ४ चौका र ७ छक्का प्रहार गरे।
यस्तै चमिन्दा रुवानले ४२ तथा सुरेन्द्रन चन्द्रमोहनले ३१ रन बनाए। नेपाली कप्तान पारस खड्का २ रन बनाएर आउट भए भने मेहबुब बलमले नटआउट १३ रन जोडे।
क्वोलुनका लागि शहइव अहमेदले ३ विकेट लिए।
जवाफमा उच्च लक्ष्य पछ्याएको क्वोलुनले १७ ओभरमा ९ विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यव। क्वोलुनका लागि विकेटकिपर म्याथु स्टिलर र वाकास वर्कातले समान २७ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो खेल्न सकेनन्। सिंगापुर स्टार्सका लागि प्रमोद राजाले ३ विकेट लिए। यस्तै पारसले १ विकेट लिए भने मेहबुबले विकेट लिन सकेनन्।
समूह बी मा तीन वटै खेल जितेको श्रीलंकन सिंघालेस क्रिकेट क्लब ६ अंकका साथ समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ भने दुई खेल जितेको सिंगापुर इमर्जिङ स्टार्स समूह उपविजेता बन्यो।
यस्तै समूह ए बाट साविक विजेता भारतको मद्रास क्रिकेट क्लब समूह विजेता तथा अष्ट्रेलियाको एससीजी उपविजेता बन्दै सिमफाइनल प्रवेश गरेको छ।
अब आइतबार हुने पहिलो सेमिफाइनलमा नेपाली खेलाडी रहेको सिंगापुर इमर्जिङ स्टार्सले भारतको मद्रास क्लबसँग खेल्नेछ भने दोस्रो सेमिफाइनल सिंघालेस एससीजीबीच हुनेछ।
दुवै खेलको विजेताले आइतबारै उपाधिका लागि खेल्नेछ।