PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

डा.केसीको समर्थनमा सडकमा देखिएको दृश्य : दाम्लोले बाँधेका सांसददेखि आत्महत्या गर्ने बिरामीसम्म



सागर बुढाथोकी

डा.केसीको समर्थनमा सडकमा देखिएको दृश्य : दाम्लोले बाँधेका सांसददेखि आत्महत्या गर्ने बिरामीसम्म

काठमाडौँः  काठमाडौँको माइतीघर मण्डलाको र्याःलीमा शनिवार अनौठा  दृश्यहरु धेरै देखिए। सांसदलाई दाम्लोले बाँधेर डोर्याएकादेखि आत्महत्या गरेका दृश्यहरु देखाएर युवाहरुले सरकारलार्इ दवाव सिर्जना गरे। 

नाराबाजी गर्दै उनीहरुले चिकित्सा विधेयक एेन चाडै पारित गरेर डाक्टर केसीको जीवनरक्षा गर्न सरकार समक्ष आग्रह गरे। 

डाक्टर गोविन्द केसी अनसन बसेको २० दिन पुगिसको छ। सरकारसँगको पटक पटकको वार्ता विना निष्कर्ष टुगिंएको छ। डा. केसीको वार्ता टोलीका सदस्य डा वाइपी सिंहका अनुसार सरकारले डा. माथेमा प्रतिवेदन विपरित सहमति गर्ने तयारी गरेपछि हिजो राती अबेरसम्मको वार्ता विना निष्कर्ष टुंगिएको हो।

सरकारले केसीका माग पूरा नगरेकाले युवाहरु सडकमा उत्रेका हुन्। केसीको शरीरका अंगहरुले जुनसुकै बेला काम गर्न छोड्ने केसीको नियमित जाँच गरिरहेकी डाक्टर दिव्या सिहं शाह बताउँछिन्।

माईतीघर मण्डलामा युवाहरु रिले अनसनमा बसेका डा केसीले अनसन सुरु गरेदेखि नै हो। आज पनि माइतीघर मण्डलामा केही युवा रिले अनसनमा थिए। र्यालीका लागि विभिन्न स्थानबाट युवाहरु आउने क्रम जारी थियो।  

केही युवाले अघि बढ्न खोजिरहेकाहरुलाई खुट्टा तानेर लडाउन प्रयास गरिरहेका थिए। नेताहरुले यसरी नै एकअर्काको खुट्टा तान्ने गरेकाले देश विकास नभएको देखाउन उनीहरुले यस्तो कार्यक्रमको सहयोग लिएका थिए।

चिकित्सा एेन पास नहुनुमा एमाले सांसद दोषी रहेको उनीहरुले सुनाइरहेका थिए। र्‍याली अघि बढ्दै थियो। एकजना मोटो मानिसले केही युवालाई दाम्लोले बाँधेर डोर्याइरहेका थिए। दाम्लोमा बाँधिएकाहरुले मोटो मानिसलाई नमस्ते गर्दै अघि बढिरहेका थिए। 

दाम्लाले बाधिएका मानिसहरुको शरीरभरी ६०१ सांसद लेखेको पर्चा टाँसिएको थियो। माफियाले सांसदलाई किनेकाले डा केसी अनसन बस्नुपरेको उनीहरुले देखाइरहेका थिए। 

माफियासँग नेता बिक्दा जनता मारमा परेको अवस्था त्यहाँ चित्रण गरिएको थियो। त्यसक्रममा उनीहरुले सडक नाटक प्रदर्शन गर्नसमेत भ्याए। सडक नाटकमा सरकारी र निजी कलेजको भिन्नता प्रस्तुत गरिएको थियो। 

गरिवहरुले उपचार नपाएर कसरी मर्छन् भनेर देखाइएको थियो। नेपालको उपचार प्रणालीले गरिव जनता आत्महत्या गर्न पुग्छन् भन्ने नाटकमा प्रस्तुत गरिएको थियो।

र्‍यालीमा आएका धेरै युवालाई एउटै प्रश्न सोधियो। सबैको प्रतिक्रिया एउटै थियो, ‘डाक्टर केसीको अनसन एक क्षेत्रको सुधारको लागि मात्र हैन। सबै क्षेत्रको सुधारको लागि हो। त्यसैले हामी र्यालीमा आयौँ।’  

उनीहरु सुनाउँछन्, ‘हामी जस्तो युवाले डाक्टर केसीलाई समर्थन गर्न सक्नुपर्छ। माफियालाई सांसदले साथ दिएर हामीले मात्र हैन, हामीभन्दा पछिल्लो पुस्ताले दुःख पाउँछन्।’

र्‍यालीमा ‘संसद भत्ता एकैदिन, चिकित्सक ऐन आउन वर्षौ दिन’ भन्दै नारा लगाइरहेका युवाहरु मात्र थिएनन्। विभिन्न क्षेत्रका प्रख्यात व्यक्तिहरु पनि सहभागी थिए। जेष्ठ नागिरक, नागिरक समाजका अगुवा, शारिरीकरुपमा अशक्त व्यक्तिहरु पनि र्यालीमा आफ्नो स्वर मिलाइरहेका थिए।

‘ओली, देउवा, प्रचण्ड, माफिया मोहले देश हुन्न सम्पन्न।’ 
‘सांसदको घडीमा, माफियाको ब्याट्री’
‘एक, दुई, तीन, चार, हामी मान्ने छैनौँ हार  
पाँच, छ, सात, आठ 
माफियाको कान समात’
‘सरकारको भुटनमा माफियाको तरकारी।’

यस्तै विभिन्न नाराहरुको साथ र्‍याली अघि बढिरहेको थियो। शारिरिक रुपमा अशक्त तथा बिरामी व्यक्तिहरु पनि ‘उठ, जनता अत्ति भो, चुप बस्दा क्षति भो’ भन्दै र्यालीलाई साथ दिइरहेका थिए। 

‘स्वास्थ्यमा खेलबाड गर्न दिदैनौँ,  डा. केसीलाई मर्न दिदैनौँ।’ युवाहरुको बुलन्द आवाजमा उनीहरुको समर्थनको स्वर मिसिएको थियो।
 
 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell