
मिगुएल ब्रिटोसले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरेपछि वाटफोर्डले प्रिमियर लिगमा लिभरपुलसँग बराबरी खेल्दै अंक खोसेको छ।
त्यसअघि खेलमा दुईपटक वाटफोर्डले अग्रता लिएपनि लिभरपुलले ३ गोल गर्दै जित नजिक पुगेको थियो। तर अन्तिम समयमा सम्हालिन नसक्दा लिभरपुलले १ अंकमै चित्त बुझाउनुपर्यो।
घरेलु मैदान भिकारेज रोडमा स्टेफानो ओकाकाले आठौँ मिनेटमा गोल गर्दै वाटफोर्डलाई अग्रता दिलाएका थिए। २९औँ मिनेटमा लिभरपुलका लागि साडियो मानेले बराबरी गोल फर्काए। त्यसको तीन मिनेटपछि डोकुरेको गोलमार्फत वाटफोर्डले पुन: खेलमा अग्रता लियो।
पहिलो हाफमा पछि परेकव लिभरपुलले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै दुई गोल गर्यो। ५५औँ मिनेटमा रोवर्टो फिर्मिन्होले पेनाल्टीमार्फत गोल गर्दै खेल २-२ को बराबरी गरे। त्यसको दुई मिनेटपछि नै मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलले ३-२ को अग्रता बनायो।
उक्त अग्रतालाई लिभरपुलले निर्धारित समयसम्म कायमै राखेपनि घरेलु मैदानमा जुझारु प्रदर्शन गरेको वाटफोर्डले इन्जुरी टाइममा लिभरपुलको अग्रता तोडिदियो। इन्जुरी टाइमको चौथो मिनेटमा ब्रिटोसले गोल गर्दै हारनजिक पुगेको वाटफोर्डलाई अंक दिलाए।