
काठमाडौं : नेपाली सिनियर टिमका कप्तान पारस खड्काले १ विकेट लिनुका साथै ३६ रन बनाएको खेलमा सिंगापुर इमर्जिङ स्टार्स साविक विजेता मद्रास क्रिकेट लबलाई हराउँदै पाँचौ एससीसी टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
आइतबार बिहानै भएको पहिलो सेमिफाइनलमा पारस र अर्का नेपाली खेलाडी महेबुब आलम सम्मिलित सिंगापुर स्टार्सले भारतको मद्रासलाई ६ विकेटले पराजित गरेको हो।
१८६ रनको लक्ष्य स्टार्सले १९ ओभरमा ४ विकेट गुमाएर १८९ रन बनाउँदै पूरा गरेको हो। स्टार्सको जितमा चेतन सूर्यवंशीले नटआउट रहदै सर्वाधिक ४२ रन बनाए भने पारस खड्काले ३६ रनको योगदान गरे। २९ बल खेलेका चेतनले ४ चौका र २ छक्का प्रहार गरे। यस्तै खड्काले २० बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे।
यस्तै सुरेन्द्रन चन्द्रमोहनले ३३, क्षितिज सिनेदे २६ तथा चमिन्दा रुवानले २२ रन जोडे भने अखिल बालाचन्द्र २३ रनमा नटआउट रहे। मद्रासका भेनकाटेस आएरले २ विकेट लिए।
त्यसअघि पदाङ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मद्रासले कप्तान स्वप्निल एसको अर्धशतक मद्दतमा २० ओभर खेल्दै ४ विकेट गुमाएर १८५ रन बनाएको थियो। स्वप्निलले ३५ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५२ रन बनाए। विकेटकिपर बासुदेव दासले ४२ तथा राफी गोमेजले ४० रन जोडे।
बलिङतर्फ सिंगापुर स्टार्सका लागि अनन्थ कृष्णले २ तथा पारस खड्का र प्रमोद राजाले १-१ विकेट लिए। ४ ओभर बलिङ गरेका पारसले २७ ओभर खर्चेर १ विकेट लिए। पारसले नै मद्रासको स्पप्निल र राफीको पहिलो विकेटका साझेदारी तोडेका थिए।
सिंगापुर स्टार्सले आजै हुने फाइनलमा सिंघादेस स्पोर्टस् क्लब तथा एससीजीको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेलनेछ।