
काठमाडौः देशका विभिन्न भागमा दुई दिनदेखि परेको अविरल वर्षाको कारण तराईका जिल्लाहरु जलमग्न छन्। बाढी र पहिरोको कारण ३३ जनाको मृत्यु भइसकेको छ। हजारौँ घर डुबानमा परेका छन्।
शुक्रवारबाट सुरु भएको अविरल बर्षा सोमबारसम्म जारी रहने मौसमविद् बताउँछन्। वरिष्ठ मौसमविद् राजु प्रधानाङ्ग भन्छन् 'पूर्वी तराईका जिल्लामा आइतबार बेलुकाबाट वर्षा कम भए पनि मध्य र पश्चिम तराईमा सोमबारसम्म वर्षा हुने देखिन्छ।'
जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार अहिलेसम्म सबैभन्दा बढी वर्षा सिमरामा मापन गरिएको छ। विराटनगरमा भने मापन केन्द्र नै पानीले डुबाएकाले कति वर्षा भयो कुनै जानकारी छैन।
एक महिनामा पर्ने पानी दुई दिनमै पर्यो
सामान्यतया एक महिनामा पर्नेभन्दा बढी पानी पछिल्ला दुई दिनमा नै परेको मौसमविद्हरु बताउछँन्। मौसमविद् प्रधानाङ्ग भन्छन् 'औसत एक महिनामा पर्नेभन्दा बढी वर्षा भएको देखिएको छ। अगस्ट महिनमा नेपालगन्जमा औसत ३५३.८ मिलिमिटर वर्षा हुनु पर्नेमा शुक्रबारदेखि आइतबार बिहानसम्म ३९० मिलिमिटर वर्षा भएको छ।
सबैभन्दा बढी वर्षा हुने सिमरामा मासिक औसत ४३९.५ मिलिमिटर रहेकोमा पछिल्लो दुई दिनमा नै ७५५ मिलिमिटर पानी परेको छ। भैरवहामा पनि मासिक औसत ३५५.५ मिमिमा दुई दिनमा ४१५. ८ मिलिमिटर बर्षा भएको छ। विराटनगरमा पनि महिनाको औसतभन्दा बढी वर्षा भएको अनुमान गरिए पनि मापन केन्द्र नहुदा यकिन भएको छैन्।