PahiloPost

Nov 9, 2025 | २४ कात्तिक २०८२

नेता कार्यकर्तालाई बाढी पहिरो पीडितको राहत तथा उद्धारमा खटिन प्रचण्डको निर्देशन



रासस

नेता कार्यकर्तालाई बाढी पहिरो पीडितको राहत तथा उद्धारमा खटिन प्रचण्डको निर्देशन

काठमाडौँ : नेकपा माओवादी केन्द्रले बाढी प्रभावित जनताको राहत तथा उद्धारमा सम्पूर्ण शक्तिका साथ परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। 

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रेस विज्ञप्तिमार्फत प्राकृतिक विपद्को यस अवस्थामा उद्धार र राहतका लागि तत्काल जुट्न पार्टीको सम्पूर्ण पंक्तिलाई आग्रह गरेका हुन्। 

उनले केही दिनदेखिको अविरल वर्षाका कारण देशव्यापी रुपमा ठूलो जनधनको क्षति भएको र बाढीपहिरोका कारण राजमार्ग तथा अन्य सम्पर्क सञ्जालसमेत अवरुद्ध हुन पुगेकाले नागरिकको जीउधनको रक्षा गर्न, उनीहरुलाई सुरक्षित स्थानमा उद्धार गर्न र राहतको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रचण्डले सरकारमा सहभागी भएका पार्टीका मन्त्रीलाई पनि नागरिकको उद्धार र राहत वितरणमा सक्रियताका साथ लाग्न र परिचालित हुन आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ। 

यस्तै, माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले पनि बाढी पहिरोपीडित नागरिकको उद्धार तथा राहत वितरणका लागि खट्न आग्रह गरेको छ।

वाइसिएलका नेता रामप्रसाद सापकोटाले वाइसिएलका सम्पूर्ण समिति तथा सदस्यलाई पूर्ण इमान्दारीका साथ परिचालित हुन आग्रह गरिएको जानकारी दिए।

अनेरास्ववियु (क्रान्तिकारी)ले पनि बाढी पहिरोपीडितको राहत तथा उद्धारमा खट्न नेता तथा कार्यकर्तालाई आग्रह गरिसकिएको अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell