PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

राप्रपा प्रजातान्त्रिक सनाखतका लागि निर्वाचन आयोग जाँदै : पुग्ला ४० प्रतिशत?



रमेश वाग्ले

राप्रपा प्रजातान्त्रिक सनाखतका लागि निर्वाचन आयोग जाँदै : पुग्ला ४० प्रतिशत?

काठमाडौं: राप्रपाबाट विभाजित भएर निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको राप्रपा प्रजातान्त्रिकलाई निर्वाचन आयोगले आज दल दर्ताका लागि बोलाएको छ।

साउन २२ गते दल दर्ताका लागि निवेदन दिएको पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई आयोगले सनाखतका लागि आज बोलाएको हो। सनाखतका आयोगले राप्रपा प्रजातान्त्रिकलाई बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्मको समय तोकेको छ।

राप्रपा प्रजातान्त्रिकले दर्ता प्रमाणपत्र पाउन निर्वाचन आयोगमा कायम रहेको केन्द्रीय समितिको ४० प्रतिशत र संसदीय दलको पनि ४० प्रतिशत सदस्य पुर्‍याउनुपर्ने हुन्छ। निर्वाचन आयोगमा राप्रपाको महाधिवेशनपछि एकसय १९ सदस्यीय केन्द्रीय समिति अभिलेख गरिएको थियो। पछि असार २८ गतेको पत्राचारबाट मनोनित गरेका ४२ सदस्यसहित राप्रपाको केन्द्रीय समिति १६१ सदस्यीय भएको थियो।

राप्रपाले निर्वाचन आयोगमा साउन ३ गते पाँच जनालाई केन्द्रीय समितिबाट हटाएपछि राप्रपाको केन्द्रीय समितिमा एक सय ५६ सदस्य रहेको आयोगमा अभिलेख छ।

 

पुग्ला त ४० प्रतिशत?

राप्रपाले पाँच केन्द्रीय सदस्य हटाएपछि कायम भएको १५६ सदस्यको ४० प्रतिशत ६२ दशमलव ४ हुन्छ। शून्यन्तरको निमय लागू गर्दा संख्या ६२ कायम हुन आउँछ।

राप्रपा प्रजातान्त्रिकले दल दर्ताको प्रमाणपत्र लिन कम्तीमा ६२ सदस्यको सनाखत गराउनु पर्छ। राप्रपा प्रजातान्त्रिकले आयोगमा बुझाएको हस्ताक्षरमा ६६ जनाको नाम उल्लेख छ। तर आयोगले त्यसको भेरिफाइ गर्दा कारबाही नभएका केन्द्रीय सदस्यको संख्या ६१ भेटिएको छ। त्यसैले आयोगले सनाखतका लागि बोलाएर केन्द्रीय समितिको ४० प्रतिशत पुर्‍याउन सक्ने/नसक्ने परीक्षण गर्न लागेको हो।

राजनीतिक दलसम्बन्धी ऐन २०७४ का अनुसार नयाँ दलको मान्यता पाउन केन्द्रीय समिति र संसदीय दल दुबैको ४०–४० प्रतिशत आवश्यक छ।



आयोगले संसद् सचिवालयसँग संसदीय दलको अवस्थाबारे प्रमाणीकरण मागिसकेको छ। 'संसदले आयोगलाई नयाँ दलको पक्षमा २० जना सांसद् रहेको पत्र पठाइसकेको छ।

राप्रपा प्रजातान्त्रिकको दर्ता प्रक्रिया समेत हेरिरहेका केन्द्रीय सदस्य बाबुराम बस्नेतले भने, 'केन्द्रीय समितिका लागि पनि न्युनतम भन्दा केही सदस्य बढी नै भएकाले दर्ता प्रक्रियामा कुनै समस्या हुँदैन।'

उनले उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका रामकुमार सुब्बाले दूतावासमार्फत पत्र पठाइसकेको र अमेरिकामा रहेका रामकृष्ण भट्टराईले पनि पत्र पठाइसकेकाले संख्याका विषयमा समस्या नरहेको बताए।

निर्वाचन आयोग कानुन शाखाका उपन्यायाधिवक्ता घनश्याम ओझाले पत्रबाट प्रमाणीकरण नहुने भन्दै दूतावासमार्फत प्रमाणित गराउनु पर्ने वा आयोगमै उपस्थित हुनुपर्ने बताए।

'कि त आयोगमा उपस्थित भएर सनाखत गराउनु पर्छ। कि त दूतावासमा उपस्थित भएर सनाखत प्रमाणित गराउनुपर्छ र मात्र त्यसलाई आयोगले मान्यता दिन्छ,' ओझाले भने।

केन्द्रीय सदस्य बस्नेतले दुबैजना फर्किसकेकाले आयोगमा गएर सनाखत गर्न पनि अब समस्या नभएको बताए। 'आयोगले आज बोलाएपछि अध्यक्षले पत्र बुझ्ने हो र अर्को समय लिने हो,' बस्नेतले भने, 'त्यसपछि दुबै जनाको सनाखत हुन्छ। हामीले दलको मान्यता आयोगबाट पाउँछौ।'

निर्वाचन आयोगको साउन २७ गतेको बैठकले राष्ट्रिय प्रजातान्त्र पार्टीका निर्वाचित र मनोनित ४२ सहित एक सय ६१ सदस्यीय केन्द्रीय समिति नरहको भनी राप्रपाले पठाएको पत्रका आधारमा एक सय ५६ सदस्य कायम गर्ने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell