
फिल्म फ्लप हुँदा चर्को घाटा बेहोरेपछि बलिउडका स्टार सलमान खानले ट्युबलाइटका वितरकलाई घाटाको आधा रकम फिर्ता दिने बचन दिएका थिए। त्यसै अनुसारुप उनले वितरकलाई ३२ करोड ५० लाख रुपैयाँ फिर्ता गर्ने सहमति भएको छ। यो रकम फिल्म वितरकले बेहोरेको घाटाको ५० प्रतिशत हो।
त्यसो त सलमानले घाटामा आफ्नो पनि हिस्सेदारी रहने पहिले नै कबोल गरिसकेका थिए। तर, व्यस्त सेड्युलमा रहेका उनले ढिलोगरी रकम दिने सहमति गरे।
गत बुधबार नै सलमानले फिल्म वितरकहरुलाई बोलाएर क्षतिपूर्तिका लागि छलफल गरेका थिए। त्यसअघि सलमानका बाबु सलिम खानले ट्युबलाइट फिल्मका वितरकलाई खाली हात नफर्काउने बताइसकेका थिए।
रोचक त के छ भने सलमानको ट्युवलाइटमा चर्को घाटा बेहोरेका वितरक श्रीयंस हिरावतले अर्का खान शाहरुखकको फिल्म जब ह्यारी मेट सेजलबाट पनि ५० करोड गुमाएका छन्। त्यसैले बलिउडमा शाहरुखले समालनको पदचाप पछ्याउँछन् कि पछ्याउँदैनन् भन्ने चर्को बहस हुन थालेको छ।