
काठमाडौं : यही बिहिबारदेखि सुरु हुने २०औं राष्ट्रिय पौडी प्रतियोगितामा एक खेलाडीले चार इभेन्टमा मात्र भाग लिन पाउने भएको छ।
आइतबार नेपाल पौडी संघले पत्रकार सम्मलेन गर्दै उक्त विषयमा जानकारी दिएको हो। यसअघि एकै खेलाडीले १० भन्दा बढी इभेन्टमा भाग लिदै आएका थिए। १९औं संस्करणमा शिरिष गुरुङ एक्लैले १६ स्वर्ण पदक जितेका थिए।
राष्ट्रिय खेलकुद परिषद्को तत्वावधान तथा नेपाल पौडी संघको आयोजनामा हुने प्रतियोगिता बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा हुनेछ।
प्रतियोगितामा ५ विकास क्षेत्र तथा तीन विभागीय क्लब गरी कूल ८ टिमबाट १३६ खेलाडीले सहभागिता जनाउने संघले जनाएको छ। जसमा ६३ महिला तथा ७३ पुरुष खेलाडी छन्।
बिहिबार र शुक्रबार गरी दुई दिन चल्ने प्रतियोगिताको लागि ८ देखि १० लाख खर्च हुने नेपाल पौडी संघकी उपाध्यक्ष तथा आयोजक समिति संयोजक गीता राणाले जानकारी दइन्।
९५ पुरुष र ४९ महिला खेलाडीले विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। पुरुष र महिलाको समान १३-१३ इभेन्टमा प्रतिस्पर्धा गराइनेछ।