
काठमाडौं : चितवनको पर्यटकीय नगर सौराहामा रहेका पर्यटकलार्इ सुरक्षित स्थलमा ल्याउन थालिएको छ।
सौराहाका सबै होटलमा बाढी पसेपछि स्थानीय प्रशासन र क्षेत्रीय होटल संघ सौराहाको संयोजनमा पर्यटकलार्इ सुरक्षित स्थानमा ल्याउन थालिएको हो। सौराहामा झण्डै पाँच सय पर्यटक छन्। लगातारको वर्षाका कारण सौराहाका सबै होटलमा बाढी पसेको थियो। होटलमा पानी पसेपछि पर्यटकलार्इ सौराहाकै सुरक्षित रहेका होटलमा स्थानान्तरण गरिएको हो।
राप्ती बढेर सौराहाका होटलमा पस्न थालेपछि संघले सुरक्षित स्थानमा सार्न प्रभावकारी भूमिका खेलेको थियो। संघको समन्वयमा नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीले उद्दार गरिरहेको छ। संघका अध्यक्ष सुमन घिमिरेका अनुसार अहिलेसम्म पचास जना पर्यटकलार्इ सौराहाबाट उद्दार गरिसकिएको छ।
'सौराहामा रहेका पर्यटकलार्इ सुरक्षित स्थानमा ल्याउने क्रम जारी छ। अहिले पानीको सतह घट्न थालेको छ। तर पनि पर्यटकहरु आत्तिन थालेकाले उनीहरुलार्इ सुरक्षित स्थानमा ल्याउन थालिएको हो,' उनले भने, 'आफ्नो देश फर्किने टिकट रहेका र बढी आत्तिएका पर्यटकलार्इ प्राथमिकतामा राखेर सुरक्षित स्थानमा ल्याएका छौं।'
उनका अनुसार पर्यटकलार्इ हात्ती र डुङ्गाको मद्दतबाट सौराहाबाट चित्रसारी ल्याइएको छ। सौराहामा रहेका पर्यटकलार्इ अहिले खानेकुराको समस्या भएको छ।
'अहिले सौराहामा फसेका पर्यटकलार्इ खानेकुराको समस्या भएको छ। विहान बचाएर राखिएको पाउरोटी लगायतका खानेकुरा खुवाइएको थियो,' घिमिरेले भने, 'अब खानेकुराको समस्या हुने देखिएको छ।'