PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

डुबानमा ब्ल्याक आउटबाट उद्दार गर्न प्राधिकरणको यस्तो प्रयास



पहिलोपोस्ट

डुबानमा ब्ल्याक आउटबाट उद्दार गर्न प्राधिकरणको यस्तो प्रयास

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले अविरलको वर्षा र बाढीका कारण क्षतिग्रस्त बनेको सिष्टम पुनः सञ्चालनका लागि मुलुकका चार स्थानमा सञ्चालक नेतृत्वको टोली खटाएको छ। पुर्वाञ्चलमा चेतराज जोशी, मध्यमाञ्चलमा उमेशप्रसाद थानी, पश्चिमाञ्चलमा चन्द्र टण्डन एवं मध्य र सूदुर पश्चिममा भक्तबहादुर पुनः संयोजक रहेको टोली खटाइएको हो। 

उनीहरुले क्षतिको अवस्था आँकलन गरी तत्काल उद्धारको उपाय सुझाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। त्यस बाहेक विपदका बेला प्राधिकरणका संरचना भत्कँदा आउने क्षति न्यूनिकरणको उपाय सुझाउन पनि टोलीलाई म्यान्डेट दिइएको छ। 

तीन दिन देखिको अविरल झरीका कारण मुलुकका बिभिन्न क्षेत्रमा प्राधिकरणमा संरचनामा ठूलो क्षति पुगेको छ। तीनवटा सब-स्टेसन जलमग्न भएर बन्द नै गर्नु परेको प्राधिकरणले जनाएको छ। दुहवी, दमक र अनारमनी सब-स्टेसन शुक्रबार बिहान साढे सात बजे देखि पूर्ण रुपमा बन्द भएका हुन्।
 
सोही कारण लहान पूर्वका जिल्ला हिजो देखि अँध्यारोमा छन्। दमक-गोदक खण्डको १३२ केभी प्रशारण लाइन अन्तर्गत चुलाचुलीमा रहेको १७ नम्बर टावर समेत बाढीको कारण ढलेको छ। यो टावर ढलेपछि सानिमा माई हाइड्रो लगायत कावेली करिडोरका पावर हाउसबाट उत्पादित बिजुली केन्द्रीय प्रशारण लाइनमा जोडिन सकेको छैन। 
 
यस्तै हेटौंडा सब-स्टेसन अन्तर्गत हेटौंडा सिमेन्ट नजिक ६६ केभी टावर पल्टिन लागेको कारण उक्त औद्योगिक फिडरको सर्किट नम्बर १ र २ बन्द गरिएको छ। चपुर-पथलैया १३२ केभी सर्किट नम्बर २ पनि शुक्रबार राती साढे नौ बजे देखि चालु हुन सकेको छैन। ढल्केबर-चपुर १३२ केभी सर्किट नम्बर १ पनि शुक्रबार अपरान्ह देखि बन्द छ। बालाजु-त्रिशुली ६६ केभी सर्किट नम्बर १ र २ पनि हिजो राती १० बजे देखि अवरुद्ध छ।

लहान सब-स्टेशन अन्तरगत रुपनी र लोकल फिडर बाहेक सम्पूर्ण ३३ केभी र ११ केभी बन्द रहेको प्राधिकरणले जनाएको छ। यो सब-स्टेसन अन्तर्गत ३६ मेगावाट बिजुली वितरण हुने गरेकोमा अहिले २ मेगावाट मात्र खपत भइ रहेको छ। यस्तै ढल्केबर सब-स्टेसन अन्तर्गत जनकपुर फिडर बाहेक सम्पूर्ण फिडर बन्द रहेको र ३५ मेगावाट मध्ये १ मेगावाट मात्र खपत भइ रहेको जनाइएको छ। 
 
माग भएको कारण १४० मेगावाटको कालीगण्डकी एबाट १०० मेगावाट, ७० मेगावाटको मध्यमर्यांङ्दीबाट २५ मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दीबाट ३२ मेगावाट मात्र बिजुली उत्पादन भइ रहेको छ। बालाजु-त्रिशुली ६६ केभी सर्किट ट्रिपिङ भएको कारण चिलिमे र त्रिशुलीबाट ७/७ मेगावाट एवं देबीघाट ५ मेगावाट मात्र बिजुली उत्पादन भइ रहेको प्राधिकरणले जनाएको छ। गण्डक पावर हाउस पनि बाढीको कारण आइतबार बिहान देखि पुर्ण रुपमा बन्द भएको छ। 
 
माग कम भएको कारण प्राधिकरणले ढल्केबर-मुजफ्फरपुरबाट लिनुपर्ने १०० मेगावाट बिजुली मध्ये ७ देखि ३३ मेगावाट मात्र लिन सकेको छ। यस्तै विहारबाट र टनकपुरबाट हुने आयात पुर्ण रुपमा ढप्प छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell