
काठमाडौं : सन् १९९९ मा काठमाडौंमा भएको आठै दक्षिण एसियाली खेलकुदमा घरेलु टोली नेपालले ३२ स्वर्ण जित्दै भारत (१०२ स्वर्ण) पछि दोस्रो स्थान हासिल गरेको थियो। त्यसपछि नेपालले फेरी साग गेम्स आयोजना गरेको छैन र दोस्रो स्थानमा पुग्न सकेको पनि छैन।
सन् १९८४ मा नेपालबाटै सुरु भएको साफ गेम्स आयोजना गर्नु र मेडल तालिकामा फड्को मार्नु दुबै नेपालको लागि गाह्रो भइसक्यो।
भारतमा भएको ११औं सागको समापन समारोहमा १३औं साग सन् २०१८ मा नेपालमा बयोजना गर्ने गरी नेपालले झण्डा ग्रहण गरेको थियो। तर नेपालले उक्त मिति सार्दै २०१९ मार्चमा नयाँ मिति तय गरेको छ साग गर्न।
अहिले नेपालको लागि भौतिक पूर्वाधार समयमै तयार पार्नु र सफल रुपमा साग आयोजना गर्नु सबैभन्दा ठूलो चुनौती बनेको छ।
साग गेम गर्ने मुख्य स्टेकहोल्डरको रुपमा रहेको नेपाल ओलम्पिक कमिटि नै अहिले नेपालमा साग गर्ने कि नगर्ने भन्ने मनस्थितीमा पुग्न थालिसकेको छ। अन्तर्राष्ट्रिय मान्यताप्राप्त भन्दै हिँडेको नेपाल ओलम्पिक कमिटी एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारले सहयोग नगरे नेपालले साग गर्ने मौका गुमाउन सक्ने प्रतिक्रिया दिएका छन्।
आइतबार व्यवस्थापिका संसद महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाल कल्याण समितीअन्तर्गतको खेलकुद उपसमितिले सिंहदरबारमा गरेको छलफल कार्यक्रममा श्रेष्ठले भौतिक पूर्वाधार निर्माण गर्न सरकारले सहयोग गर्नुपर्ने बताए।
सन् २०१९ मार्च ९ देखि १८ तारिखसम्म नेपालमा हुने भनिएको १३औं सागको लागि अहिलेसम्म भएको तयारी, अहिलेसम्म गरेका काम, अबका दिनमा गर्नुपर्ने काम र चुनौतीका बारेमा आइतबार छलफल भएको थियो।
छलफल कार्यक्रममा एनओसीका अध्यक्ष श्रेष्ठले एनओसी भन्दा पनि नेपाल सरकारले भौतिक पूर्वाधारका लागि सहयोग गर्नुपर्ने बताए।
बाबुराम भट्टराई प्रधानमन्त्री रहेको बेला २०६८ मै १३औं साग नेपालमा आयोजना गर्न सकिने नेपाल सरकारले निर्णय गरेको थियो। तर त्यसअनासर कारकारवाही अगाडी बढ्न नसक्दा अहिले नेपालले पाएको अवसर पनि गुमाउन सक्ने चिन्ता बढेको छ।
आइतबार भएको छलफलमा एनओसीमात्र उपस्थित थियो भने मन्त्रालय राखेपको उपस्थित थिएन। खेलकुद उपसमिति संयोजक मोहन राई मन्त्रालय र राखेपलाई पनि छिट्टै बोलाउने र सरोकारवाला सबै निकाय एकै स्थानमा भेला गरेर छलफल गर्ने प्रतिक्रिया दिए।
तोकिएको समयमै साग नेपालमा हुने नहुने अन्योल चलिरहेका बेला एनओसी अध्यक्ष श्रेष्ठले १३औं सागमा कति खेल समावेश गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए। श्रेष्ठका अनुसार पछिल्लो पटक बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा २८ खेलको बारेमा कुरा भएको र सेप्टेम्वरमा हुने अर्को बैठकले त्यसको टुङ्गो लगाउने बताए।
सागमा कुनै पनि खेल समावेश गर्नका लागि ४ देशले भाग लिनैपर्ने श्रेष्ठले जानकारी दिए।
अब १३औं साग आयोजनाको मिति आउन डेढ वर्ष मात्र बाँकी छ र त्यसका लागि नेपालमा भौतिक पूर्वाधारको कुनै तयारी नै सुरु भएको छैन।