PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

अम्बिकाबहादुर स्मृति जुडोमा रोशन र मनीता उत्कृष्ट, श्रीराम अन्तर्राष्ट्रिय जुडोका लागि छनोट



पहिलोपोस्ट

अम्बिकाबहादुर स्मृति जुडोमा रोशन र मनीता उत्कृष्ट, श्रीराम अन्तर्राष्ट्रिय जुडोका लागि छनोट
उत्कृष्ट खेलाडी बायाँबाट रोशनबहादुर दोङ, मनीता श्रेष्ठ प्रधान तथा अन्तर्राष्ट्रिया प्रतियोगितामा छानिएका श्रीराम।

काठमाडौं : बन्दी सहायता नियोग (पाम)का रोशनबहादुर दोङ र त्रिभूवन आर्मी क्लबकी मनीता श्रेष्ठ प्रधान आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी चुनिएका छन्। दुवै आ–आफ्नो तौलसमूहका विजेता समेत हुन्।

पहिलो दिन शनिबार रोशनले पुरुष ५५ केजीमुनि तथा मनीताले महिला ५७ केजीमुनि स्वर्ण जितेका थिए। मनीताले उत्कृष्ट इप्पोनको उपाधि पनि हात पारिन्। पुरुषमा उत्कृष्ट इप्पोनको उपाधि नेपाल प्रहरी क्लबका श्रीराम मकाजुले हात पारे।

स्व. अम्बिकाबहादुरका परिवारका प्रायोजनमा नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन पुरुष-महिलामा समान ४–४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको लुम्बिनी हलमा भएको पुरुष ६० केजीमा प्रहरीका उमेश मगरले स्वर्ण जिते। उनले फाइनलमा केन्द्रीय जुडो डोजोका किरण गडेललाई पराजित गरे। ७३ केजीमुनि प्रहरीका सन्जित डंगोल पहिलो भए। उनले आर्मीका जंगबहादुर सारुलाई फाइनलमा हराए। ९० केजीमुनि इप्पोनमा उत्कृष्ट ठहरिएका श्रीरामले फाइनलमा आर्मीका दिलबहादुर मगरलाई पाखा लगाउदै पहिलो भए। १०० केजीमाथि कुनैपनि प्रतिद्वनद्वी नपाएका प्रहरीका राजन जोशी स्वतः विजेता बने।

महिलाको ४४ केजीमुनि बाँकेकी सोनिया भट्ट च्याम्पियन बनिन्। सोनियाले होप्याडकी पुष्पा भण्डारीमाथि फाइनलमा जित निकालिन्। ५२ केजीमुनि प्रहरीकी दिलकुमारी छन्त्याल र ६३ केजीमुनि आर्मीकी फुपुल्हामु खत्री पहिलो भए। उपाधि भिडन्तमा दिलकुमारीले केन्द्रीय जुडोकी रोजिना थापा मगर तथा फुपुले प्रहरीकी पूर्णा राईलाई निराश बनाए। ७८ केजीमुनीको स्पर्धामा कसैले नाम दर्ता नगराएपछि आर्मीकी पुनम श्रेष्ठ पहिलो भइन्।

राष्ट्रिय टिम छनोटको आधार मानिएको यस प्रतियोगितामा पुरुष-महिलामा समान ८–८ गरी १६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। पुरुषको ५५ केजीमुनि र महिलाको ४४ केजीमुनि बाहेक सबै स्पर्धामा पहिलो र दोश्रो हुने खेलाडी राष्ट्रिय टिममा छनोट भएका छन्। पुरुषको ५५ केजीमुनि र महिलाको ४४ केजीमुनि स्पर्धा राष्ट्रिय टिम तयारीमा राखिएको छैन। दुईदिने प्रतियोगितामा २३ टिमका १ सय ४० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा आर्मीले सर्वाधिक ६ स्वर्ण, ४ रजत र ६ कास्य जित्यो। दोश्रो स्थानमा रहेको प्रहरीले ६ स्वर्ण, २ रजत र ४ कांस्य हात पार्‍यो। २ स्वर्ण र २ कास्यसाथ पाम तेश्रो स्थानमा रह्यो। केन्द्रीय जुडो डोजो र बाँकेले पनि १-१ स्वर्ण जिते। बाँकी टिम स्वर्णविहीन रहे।


पदक विजेता सम्मानित

गत जुलाईमा भएको दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल दुई खेलाडी र उत्तिनै प्रशिक्षकलाई जुडो संघले नगदसहित सम्मान गरेको छ।

किर्गिस्तानको बिस्केकमा भएको १८औं जुनियर एसियाली जुडोकी कास्य विजेता मनीता श्रेष्ठ प्रधानलाई १० हजार नगद पुरस्कार प्रदान गरियो। सो प्रतियोगिताका टिम प्रशिक्षक वीरेन्द्र रन्जित ६ हजार नगदबाट पुरस्कृत भए।

त्यस्तै थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक अन्तर्राष्ट्रिय युनिभर्सिटी जुडोका कास्य विजेता उमेश मगर ५ हजार नगदबाट सम्मानित भए। प्रशिक्षक सूर्यनारायण श्रेष्ठले ३ हजार नगद पुरस्कार पाए।

 

श्रीराम छनोट

जुडो संघले पूर्व घोषणा गरे बमोजिम श्रीराम मकाजु पाँचौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताका लागि छनोट भएका छन्।

पुरुष ९० केजीमुनि तौलसमूहमा पहिलो खेलाडीलाई उक्त प्रतियोगितामा सहभागिताको अवसर दिने जुडो संघले घोषणा गरेको थियो। प्रतियोगिता अक्टोबर ५ तारिखमा ताजकिस्तानको दुसानबेमा हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell