PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

बाढीबाट मृत्यु भएका परिवारलाई दुई लाख दिने सरकारको निर्णय : मन्त्रीहरुको एक महिनाको तलव बाढी पीडितलाई



रमेश वाग्ले

बाढीबाट मृत्यु भएका परिवारलाई दुई लाख दिने सरकारको निर्णय : मन्त्रीहरुको एक महिनाको तलव बाढी पीडितलाई

काठमाडौं : मन्त्रिपरिषद बैठकले बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई दुई लाख सहयोग दिने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिदको आकस्मिक बैठकले बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिमृतक दुई लाख राहत दिने निर्णय गरेको हो।

मन्त्रीपरिषद बैठकले सबै मन्त्रीहरुको एक महिनाको तलव बाढी पहिरो पीडितलाई दिने समेत निर्णय गरेको छ। मन्त्रीहरुको एक महिनाको तलव अब सिधै प्रधानमन्त्री राहत कोष मार्फत बाढी पीडितका लागि जाने छ।

मन्त्रीपरिषद बैठकले उद्धार, पुनस्थापना र राहत वितरणलाई युद्धस्तरमा संचालन गर्ने निर्णय गरेको छ।
 
'सरकारी हेलिकोप्टर मात्र उद्धार तथा राहतका लागि पर्याप्त नहुने भएकाले निजी क्षेत्रका हेलिकोप्टर पनि प्रयोग गर्ने निर्णय भएको छ,' सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले भने, 'भोली विहान देखि नै उद्धार, राहत वितरण र पुनर्स्थापनालाई युद्धस्तरमा संचालन गरिने छ।'

मन्त्री बस्नेतले पहिलो प्राथमिकता उद्धार नै भएको भन्दै उद्धारसँगै खाद्यान्न राहत पुर्याउने बताए।
 
'पहिलो चरणमा बस्ने बास नै नभएको अवस्था भएकाले उद्धारसँगै ड्राइ फूड र पानीको व्यवस्था गर्न लागिएको छ,' मन्त्री बस्नेतले भने, 'त्यसपछि पिडीतलाई आवश्यक अन्य राहत र पुनर्स्थापनाका लागि निर्णय गरिने छ।'

प्रधानमन्त्री स्थलगत भ्रमणमा

प्रधानमन्त्री शेरबहादुर देउवा भोली नै बाढीग्रस्त क्षेत्रको स्थलगत भ्रमणमा जाने भएका छन्। बाढी पिडीतहरुको यथार्थ अवस्था बझ्न र आवश्यक राहत तथा सहयोग गर्न प्रधानमन्त्री बाढीग्रस्त क्षेत्रमा जान लागेको सरकारका प्रवक्ता समेत रहेका मन्त्री बस्नेतले बताए।
 
'प्रधानमन्त्रीसँग सम्बन्धित क्षेत्रका मन्त्री पनि सहभागि हुनुहुने छ,' मन्त्री बस्नेतले भने, 'प्रधानमन्त्रीले स्थलगत भ्रमणमा बाढी पीडितका तात्कालिन आवश्यकता पहिचान भए अनुरुप राहत तथा अन्य सहयोग र आवश्यक निर्णयका लागि योजना लिएर फर्कनुहुने छ।'

मन्त्री बस्नेतले आज घोषणा भएबाहेक आवश्यक राहत तथा सहयोगका लागि भोली दिनभर स्थलगत भ्रमण तथा जिल्ला-जिल्लाबाट आउने सूचनाका आधारमा पर्सी बस्ने मन्त्री परिषद बैठकले निर्णय गर्ने जानकारी दिए।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell