
क्रिस्टियानो रोनाल्डोले एक गोल गर्नुका साथै रातो कार्डको सामना गरेको खेलमा रियल मड्रिडले सुपानिस सुपर कपको पहिलो लेगमा बार्सिलोनालाई पराजित गरेको छ।
सोमबार सम्पन्न खेलमा १० खेलाडीको रियलले बार्सालाई ३-१ ले हराएको हो। बार्सिलोनाका लागि लियोनल मेसीले एक गोल गरे।
बार्साको घरेलु मैदान नोउक्याम्पमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर ५०औँ मिनेटमा बार्सा डिफेण्डर जेरार्ड पिकेले आत्मघाती गोल गरेपछि भ्रमणकारी टोली रियलले अग्रता लियो। ७७औँ मिनेटमा लियोनल मेसीले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए।
तर त्यसको तिन समनेटपटि वैकल्पिक खेलाडी रोनाल्डोले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए। रोनाल्डो ५८औँ मिनेटमा गारेथ बेलको स्थानमा मैदान छिरेका थिए।
उनै रोनाल्डोले त्यसपछि तत्कालै लगातार दुई पहेँलो कार्ड सामना गरेपछि मैदान बाहिरिन्पर्यो र रियल दश खेलाडीमा झर्यो। त्यसको फाइदा बार्साले उठाउन सकेन। ९०औँ मिनेटमा मार्को असेन्सिनोले गोल गर्दै रियललाई दोस्रो लेग खेल्नुअघि ३-१ को जित दिलाए।
दोस्रो लेग यही बिहिबार रियलको मैदानमा हुनेछ।