
वासिङटन : अमेरिकी उप–राष्ट्रपति माइक पेन्सको उत्तर अमेरिकाको भ्रमणमा भेनेजुयला तथा संयुक्त राज्य अमेरिकाको बिषयले प्रमुखस्थान पाउने देखिएको छ।
उत्तर अमेरिकी राष्ट्र भेनेजुयलाको प्रतिपक्षीद्वारा विगत केही महिना यता जारी द्वन्द्वलाई लिएर गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाको समस्याको समाधान ‘सैनिक विकल्प’ भएको भनी दिएको प्रतिक्रियालाई लिएर भेनेजुयला तथा छिमेकी मुलुकमा ट्रम्पको भनाईबारे चासो बढेको हो।
उपराष्ट्रपति पेन्सले आफ्नो एकहप्ता लामो उत्तर अमेरिकी मुलुकको भ्रमणमा पहिले कोलम्विया पुगेका छन्। आइतबार अबेर कोलम्वियाली राष्ट्रपति जुवान म्यानुयल सान्तोससँग भेटवार्ता गर्दै सुरुहुने भ्रमणमा भेनेजुयलामा सम्भावित अमेरिकी सैन्य भूमिकाका बिषयमा छलफल हुनसक्ने अपेक्षा गरिएको छ।
संयुक्त राज्य अमेरिकाले भेनेजुयाली राष्ट्रपति निकोलस मादुरोले शक्ति हस्तान्तरण गर्न नचाहेको बताउदै आएको छ।
अमेरिकाले भेनेजुयलामा मादुरोविरुद्धको सङ्घर्षले निकै उचाई लिएको र सत्ताको बलमा प्रतिपक्षीलाई दबाउने काम भइरहेको भन्दै मादुरोको आलोचनासमेत भइरहेको छ।
ट्रम्पको भनाईप्रति विरोध जनाउदै कोलम्वियाली विदेशमन्त्रीले एक विज्ञप्ति जारी गरी ‘सैनिक उपाय वा अन्य शक्ति’को प्रयोग कोलम्वियाका लागि असह्य हुने बताएका थिए।
उनले भेनेजुयलाको प्रजातान्त्रिक आन्दोलनका क्रममा उब्जेका समस्यालाई शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्ने बताएका थिए। कुनै पनि मुलुकले भेनेजुयलाको सम्प्रभुतालाई आघात पुर्याउन नहुने विज्ञप्तिमा जनाइएको थियो।
कोलम्वियापछि पेन्स अर्जेन्टिना, चिली, र पानामा पुग्ने र त्यहाँका राष्ट्रप्रमुख लगायतका अधिकारीहरूसँग भेट गर्ने तथा ती मुलुकमा विभिन्न तहमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
कोलम्वियामा रहँदा पेन्सले व्यापार, औद्योगिक लगानी लगायतका अन्य सम्बन्धबारे कुरा गर्ने अपेक्षा गरिएको छ। त्यहाँ रहँदा पेन्सले कोलम्वियाका क्रान्तिकारी सशस्त्र शक्तिहरूसँगको शान्ति सम्झौतालाई लागू गर्ने बिषयमा कुरा गर्ने बताइएको छ।
ट्रम्प प्रशासनले कोलम्वियामाथि उक्त मुलुकबाट अमेरिकामा हुने लागूऔषध कारोबारको दवावलाई कम गर्न आग्रह गर्दै आएको छ भने कोलम्वियाले पनि कोकिनलगायतका लागू औषधजन्य उत्पादनलाई नियन्त्रण तथा निर्मुल गर्न भनी अभियान चलाइरहेको छ। रासस/एपी