PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बाढीका कारण सुनसरीमा थप दुईको मृत्यु, सात हजार भन्दा बढी विस्थापित



रासस

बाढीका कारण सुनसरीमा थप दुईको मृत्यु, सात हजार भन्दा बढी विस्थापित

इनरुवा : वर्षासँगै आएको बाढीका कारण सुनसरीमा सोमबार थप दुई जनाको मृत्यु भएको छ। 

शनिबार बिहान र शुक्रबार राति सात जनाको डुबेर र बगाएर मृत्यु भएको थियो भने सोमबार बिहान थप दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा भोक्रहा गाउँपालिकाका ढोढिया मण्डल र साझोदेवी ऋषिदेव रहेको सुनसरी प्रहरीले जनाएको छ। 

जिल्लाका विभिन्न स्थानमा गरी सात हजार बढी स्थानीय विस्थापित भएका छन्। बाढीबाट झोक्राहा गाउँपालिका–५ नरसिंह टपरा पूर्ण डुबानमा परेको छ। हरिनगरा गाउँपालिका–१, २ रामनगरभुटाहा–३ र ४ गौतमपुर र हरिनगरा क्षेत्रमा समेत सयौं घर डुबानमा परेका छन्। 

उता हरिनगरा–५ वसन्तपुरमा समेत गाउँभरि तीनदेखि सात फिटसम्म पानी जमेकाले दुई दिनदेखि स्थानीयवासी भोकभोकै बसेको नेकपा माओवादी केन्द्रका नेता मोहन यादवले जानकारी दिए। 

वसन्तपुर र नरसिंह सीमा क्षेत्रमा ६०० घर पूर्ण डुबानमा परेको छ । धेरै स्थानीयवासी उद्धारको प्रतीक्षामा छन्। बाढीमा फसेका र जोखिमा परेकाकालाई सचेत भएर सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। 

त्यसैगरी कोशी गाउँपालिका–१, २, ३ र ५ नम्बर वडासमेत पूर्ण डुबानमा परेका छन्। यता सुनसरीका देवानगञ्ज, गढी र बर्जु गाउँपालिकको समेत धेरै वडा पूर्ण डुबानमा परेको स्थानीयवासीले जनाएका छन्। 

यहाँका तीन हजार पाँच सय स्थानीयवासी डुबानमा परेका छन्। स्थानीयवासी अर्जुन मेहताका अनुसार कप्तानगञ्ज, साहेवगञ्ज क्षेत्र पूर्णरुपमा डुबानमा परेका छन्। विद्युत् सेवा तीन दिनदेखि अवरुद्ध रहेको छ। 

अविरल वर्षा र खोलानालामा आएको बाढीका कारण पूर्व–पश्चिम राजमार्ग अधिकांश स्थानमा जलमग्न भई यातायात अवरुद्ध भएको छ।

नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना पूर्णरुपमा डुबानमा परेको छ। बाढीका कारण सदरमुकाम इनरुवामा रहेका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला पशुसेवा कार्यालयलगायतका सरकारी कार्यालय डुबानमा परेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell