PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

महासंघको दुर्घटना बीमाप्रति पत्रकारको आकर्षण किन कम ?



रासस

महासंघको दुर्घटना बीमाप्रति पत्रकारको आकर्षण किन कम ?

काठमाडौंः नेपाल पत्रकार महासंघले सञ्चालन गरेको ‘पत्रकार दुर्घटना बीमा’मा पत्रकारको आकर्षण देखिएको छैन। 

महासंघ र सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको सूचना विभागले सञ्चालन गरेको दुर्घटना बीमामा पत्रकारको आकर्षण नबढेको हो।

२०७२ सालबाट सञ्चालन भएको दुर्घटना बीमा करिब १० हजार पत्रकारमा अहिलेसम्म एक हजार ७७० जनाले मात्र बीमा गरेको कार्यालय सचिव शेषराज खतिवडाले जानकारी दिए। 

महासंघका धेरै पत्रकार आवद्ध भएपनि संख्यात्मक रुपमा बीमा गराउने पत्रकारको संख्या बढेको छैन। वर्षेनी महासंघको सदस्यता र सूचना विभागको प्रतिनिधिपत्रको नवीकरण गर्नुपर्ने र बीमाको पनि नवीकरण गर्नुपर्ने झण्झटका कारण उल्लेख्य रुपमा पत्रकारले बीमा नगराएका हुन्। 

उनका अनुसार २०७२ सालमा ९१७ जना, २०७३ सालमा ५४४ र २०७४ सालमा अहिलेसम्म ३०९ जनाले दुर्घटना बीमा गरेका छन्। महासंघमा नवीकरण गरेको सदस्यता र सूचना विभागबाट प्राप्त प्रेस प्रतिनिधिपत्रका आधारमा दुर्घटना बीमा महासंघले गरिदिने गरेको छ। 

महासंघले आफ्ना सदस्य भएका पत्रकारलाई प्रतिवर्ष ८५ रुपैयाँमा दुर्घटना बीमा गरे तापनि पत्रकारको आकर्षण बढ्न नसकेको हो। वार्षिक ३३९ ले बीमा कम्पनीलाई बुझाउनुपर्ने भएपनि सूचना विभागले ७५ प्रतिशत र बीमाकर्ता पत्रकारले २५ प्रतिशत ब्यहोर्ने गर्दछन्। 

एनएलजी इन्सोरेन्स कम्पनीमार्फत महासंघले पाँच लाखबराबरको पत्रकारको दुर्घटना बीमा गर्दै आएको छ। बीमा गराएका महासंघका सदस्य मृत्यु भएमा पाँच लाख र घाइते भएको प्रकृतिअनुसार दुई लाखसम्म दिने गरेको महासंघका कोषाध्यक्ष सूर्यमणि गौतमले जानकारी दिए।

महासंघका अध्यक्ष डा महेन्द्र विष्टले तुलनात्मक रुपमा दुर्घटना गराउनेको संख्या नबढेको बताए। पत्रकार आफ्नो सरोकारका विषयमा त्यति ध्यान नदिने भएकाले पनि संख्या वृद्धि हुन नसकेको उनको भनाइ छ। 

‘‘मैले पनि यति निम्न संख्यामा मात्र पत्रकारले बीमा गर्लान् भन्ने सोचेको पनि थिएन’’उनी भन्छन्‘कतिपय ठूला मिडिया हाउसले आफैं पत्रकारको दुर्घटना बीमा गराउने भएकाले पनि कमी आएको हो।’ 

उनले पहिलेको तुलनामा पत्रकारले चासो राखेको भन्दै अब दुर्घटना बीमासँगै स्वास्थ्य बीमा पनि ल्याइने बताए। दुर्घटना बीमा उपसमितिका संयोजक समेत रहेका कोषाध्यक्ष गौतमले अपेक्षाअनुसार बीमा गराउने पत्रकारको संख्या नबढेको बताए। 

महासंघका काठमाडौं शाखा अध्यक्ष सन्तराम विडारीले दुर्घटना बीमालाई जीवन बीमाको रुपमा लैजान सके पत्रकारको आकर्षण बढ्ने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell