इटहरी : प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।
आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे नेपाली सेना तथा स्थानीय प्रशासनबाट जानकारी लिएपछि प्रधानमन्त्री देउवाले आपत्कालीन सहयोग उपलब्ध गराउन निर्देशन दिएका हुन्।
प्रधानमन्त्री देउवाका साथमा रक्षामन्त्री भीमसेनदास प्रधान, गृहमन्त्री जर्नादन शर्मालगायत सहभागी थिए। प्रधानमन्त्रीसहितको टोली सुनसरीका बाढीपीडितको अवस्था, राहत वितरण, सुरक्षा व्यवस्था र पुनःस्थापनाका लागि भइरहेका कामबारे बुझ्न यहाँ आएको हो।
टोली वर्षा र बाढीबाट प्रभावित भएका र डुबानमा परेका स्थानको हेलिकप्टरबाट निरीक्षण गरेर पूर्वी पृतनामा पुगेको थियो।रासस