PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कोरियाली प्रायद्वीपमा शान्ति स्थापनामा राष्ट्रपति इनको जोड



रासस

कोरियाली प्रायद्वीपमा शान्ति स्थापनामा राष्ट्रपति इनको जोड
फोटो श्रोतः voanews.com

सोल : दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनामा जोड दिएका छन्। 

सोमबार कोरियाली उच्च अधिकारीहरुसँगको सामूहिक भेटमा राष्ट्रपति मुनले शान्ति स्थापना आफूहरुको पहिलो प्राथमिकता भएको बताए।

दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा हालै सोलमा आयोजित पत्रकार सम्मेलनमा पनि दक्षिण कोरियाली सैन्य प्रमुखले उत्तर कोरियाको हाल जारी आणविक परीक्षण विश्वकै लागि खतरा हुनसक्ने भन्दै त्यसतर्फ सोच्न आग्रह गरेका थिए। 

उत्तर कोरियाले गएको जुलाई ४ मा गरेको पछिल्लो परीक्षणलाई शक्तिशाली रहेको भनिएको छ। विज्ञहरूले उक्त परीक्षण यसअघिको भन्दा शक्तिशाली रहेको र यसले अलास्कासम्म मार हान्न सक्ने खालको रहेको समेत बताएका छन्। 

राष्ट्रपति इनले उत्तर कोरियाकातर्फबाट जारी राखिएको यस प्रकारको परीक्षणबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको कार्य छायाँमा परेको भन्दै यसका कारण उत्पन्न हुनसक्ने खतरालाई सामाना गर्दै उक्त क्षेत्रमा शान्ति स्थापनामा जोड दिएका छन्। 

उत्तरको पछिल्लो परीक्षणपछि संसारमा शान्ति सुरक्षाको विषयलाई लिएर थप चर्चामा ल्याइदिएको छ। यसले गर्दा अमेरिका मात्र नभएर दक्षिण कोरिया र जापानका लागि पनि तनाव उत्पन्न गरेको जनाइएको छ। 

उत्तर कोरियाले गएको कम्तीमा पनि दुई वर्षयतादेखि निरन्तररुपमा आणविक परीक्षण जारी राखेको छ। क्षेप्यास्त्र परीक्षणको विरोधमा अमेरिका, संयुक्त राष्ट्रसंघलगायतले गरेको आग्रहको पनि उसले बेवास्ता गर्ने गरेको छ। 

राष्ट्रपति इनले सोलमा आयोजना गरिएको नियमित बैठकका क्रममा उत्तर कोरियाको पछिल्लो परीक्षणपछि दक्षिण कोरिया र अमेरिकाले संयुक्त रुपमा शान्ति स्थापनाको काममा लाग्ने प्रतिबद्धताका साथ काम गरिरहेको जानकारी पनि दिएका थिए। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell