
जेनेभा : द्वन्द्वका कारण विस्थापित भएका छ लाखभन्दा बढी सिरियाली नागरिक अहिले आफ्नो घर फर्किएका अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) ले जनाएको छ।
सन् २०१७ को सुरुवात देखि अहिले सम्म घर फर्किने मध्ये एलेप्पोका धेरैजना रहेको आइओएमले उल्लेख गरेको छ। जनवरीदेखि जुलाईको अन्त्य सम्ममा छ लाख दुई हजार सात सय ५९ जना आफ्नै घर फर्किएको आइओएमको तथ्याङ्क रहेको वक्तव्यमार्फत् जानकारी गराइएको छ।
उनीहरूले छाडेका ठाँउहरूमा अहिले सुरक्षा अवस्था, आर्थिक वातावरण आदि सुध्रिएकाले आफूहरू घर फर्किएको उनीहरूले बताएका छन् ।
फर्किएका मध्ये ८४ प्रतिशतले अन्य देशहरूमा द्वन्द्वका कारण विस्थापित नागरिकको रूपमा शरणार्थी भएका थिए भने बाँकी १६ प्रतिशत छिमेकी मुलुकहरू टर्की, लेवनान, जोर्डन र इराकमा रहेका थिए।
आइएओएमको विज्ञप्तिमा फर्किएकामध्ये एक चौथाई आफ्नो सम्पत्तिको सुरक्षाका लागि आएको बताएका छन्।
त्यसैगरी यति नै संख्याका अरु विस्थापितहरूले आफ्नो वास्तविक ठाँउमा आर्थिक अवस्था सुधार हुने विश्वास लिएर फर्किएका छन्। बाँकी ११ प्रतिशतले भने सुरक्षा अवस्थामा सुधार भएकाले आफ्नै ठाउँ फर्किएको बताएका छन्।
अधिकांशको फिर्ति स्वभाविक भएपनि यस्लाई अत्यावश्यकताले आएको होइन भन्ने बुझेर सुरक्षित र दिगो बनाउनु पर्ने चुनौती पनि रहेको आइओएमले बताएको छ।
सिरियामा ६ बर्ष लामो द्धन्द्धका कारण झण्डै आधा जनसङ्ख्या बराबर नागरिक आन्तरिक तथा बाह्यरूपमा विस्थापित भएका थिए। सिरियाको एलेप्पो सहर विद्रोहीहरूले पाँच महिनासम्म कब्जा गरेपछि गत डिसेम्बरमा मात्रै सरकारी सेनाले फिर्ता गरेको थियो। त्यसपछि आफ्नै ठाउँमा फर्किने क्रम सुरु भएको हो।
द्वन्द्वका क्रममा यहाँका धेरै संरचनाहरू नराम्रोसँग ध्वस्त भएको आइओएमले विज्ञप्तिमा उल्लेख गरेको छ। सिरियामा सन् २०११को मार्चदेखि भएको सरकार विरोधी द्वन्द्वका क्रममा तीन लाख ३० हजार भन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ।रासस/सिन्ह्वा