PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

सागका लागि कीर्तिपुरमा कभर्डहल निर्माण शुरु, ८३ करोड खर्च हुने



पहिलोपोस्ट

सागका लागि कीर्तिपुरमा कभर्डहल निर्माण शुरु, ८३ करोड खर्च हुने

काठमाडौं : नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि पूर्वाधार तयार गर्न त्रिभुवन विश्वविद्यालयको परिसरमा ७० रोपनी भन्दा बढी जमिनमा अत्याधुनिक कभर्डहल निर्माण शुरु भएको छ।

राष्ट्रिय खेलकुद परिषद् र त्रिविको सहकार्यमा दुई वर्षभित्र सो कभर्डहल तयार गरी केही प्रतियोगिता समेत खेलाइने लक्ष्य राखिएको छ।

कभर्डहल निर्माणका लागि टीयूले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७४ रोपनी ५ आना २ पैसा २.१२ दाम जग्गा उपलब्ध गराएको छ। ८३ करोड बजेट जग्गा सम्याउने, पार्किङ, रिटेनिङ वाल लगाउनेआदि बाहेकको खर्च हो। कुल जग्गा मध्ये २४ रोपनी पार्किङका लागि मात्र छुट्टयाइएको छ। त्यसमा २ सय ३५ गाडी र ३ सय ८७ मोटरसाइकल राख्न सकिन्छ।

कभर्डहल ५ हजार दर्शक अटाउने क्षमताको हुनेछ। कभर्डहलमा अन्तर्राष्ट्रियस्तरको जिम्नेजियम हल, प्रशासनीक भवन, खेलकुद शिक्षा विभाग, पुनर्ताजगी कक्ष, म्याच अफिसियल कक्ष, खेलाडीको चेन्जिङ कक्ष, मिडिया कक्ष, इन्डोर प्राक्टिस कक्षलगायत रहने छन्।

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आज हल शिलान्यास गर्दै मुलुकको प्रतिष्ठासँग जोडिएको साग खेललाई सफलतापूर्वक सम्पन्न गर्न अन्य स्थानमा पनि पूर्वाधार विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

उनले समय तालिकाअनुसार द्रुतगतिमा उक्त हल गुणस्तरीय बनाउन निर्देशन दिँदै त्यसका लागि आवश्यक पर्ने रकम खर्च अभाव हुन नदिने वचन दिए।

युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले सरकार र त्रिविको संयुक्त स्वामित्व रहने सो हल निजी क्षेत्रलाई व्यावसायिक रुपमा प्रयोग गर्न दिएर आयआर्जन गर्नसक्ने बताउँदै २ अर्ब २४ करोड मन्त्रालयको कुल बजेटबाट संघीय संरचनाअनुसार स्थानीय तहमा खेलकुदको विकासका लागि पनि रकम पठाउन शुरु गरिएको बताए।

त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाँले आगामी वर्षमा खेलकुदका विषयमा कक्षा सञ्चालनको गृहकार्य भइरहेको बताए। कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जनले उक्त स्थानमा तयार हुने हल तथा अन्य पूर्वाधार विस्तारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell