काठमाडौँ: बाढी प्रभावित क्षेत्रका पिडितहरुको लागि राहत संकलन अभियान तिब्र भएको छ। विभिन्न समुह, संस्था र व्यक्ति सहयोग जुटाउन लागि परिरहँदा इ-सेवासँगको सहकार्यमा जि टु वान पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सले पनि राहत संकलन अभियान सुरु गरेको छ।
फिल्म निर्माण कम्पनीहरुले संयुक्त रुपमा बाढी पिडितका लागि आर्थिक सहयोग जुटाइ रहेको हो। खाद्यान्न, लुगा, खानलाई पानी, औषधि, र बस्नका लागि स्थानको पनि नभएको अवस्थालाई मध्यनजर गर्दै निर्माण कम्पनिहरू जि टु वान पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सले आफ्नो सहयोगको हात अगाडि बढाएको असिम शाहले बताए। मोबाइल र इन्टरनेटबाट नै सजिलै पैसा आदान–प्रदान गर्न सकिने इ–सेवा कम्पनिसँग सहकार्य गरी निर्देशकद्वय निश्चल बस्नेत र आशिफ शाहले यो अभियान सुरु गरेका हुन्।
अभियानका लागि दुबै कम्पनीले ५०–५० हजारको सहयोग प्रदान गरेका छन्। त्यसै गरी सहयोग गर्ने कम्पनि इ–सेवाले पनि नगद् रू. २ लाख योगदान गरेको छ। त्यस्तै इ–सेवाका कर्मचारीहरूका तर्फबाट रू. १ लाख ५१ हजार पनि सहयोग जम्मा भएको जानकारी दिइएको छ। यसरी जम्मा रकम रू. ४ लाख ५१ हजारबाट यो अभियानको सुरुवात भएको छ।
अभियानका बारेमा कलाकार निश्चल बस्नेतले भने, 'बाढी प्रभावित क्षेत्रमा पुगेर नै सहयोग गर्न सके राम्रो हुने थियो। तर त्यहाँ पुग्न सहज छैन। यस्तो अवस्थामा घर–घरबाट सहयोग गर्न चाहनेलाई इसेवा सहज माध्यम बन्न सक्छ।' अभियानबाट उठेको रकम सम्पूर्ण नै अभियानमा योगदान गरिने कुरा कलाकार आशिफ शाहले जानकारी दिए। भने,'यो अभियानका लागि उठाइएको रकम हामीले कुनै पनि प्रशासनिक कार्यका लागि प्रयोग गर्नेछैनौं र सम्पूर्ण नै राहतको कार्यमा नै प्रयोग गर्नेछौँ।' शाहले पारदर्शिताका लागि योगदान गरिएको रकमको जानकारी इ–सेवाको डोनेसन खण्डबाट लिन सकिने बताए।
सहयोग गर्ने तरिका
सर्वसाधारणले आफ्नो मोबाइलबाट नै रकम योगदान गर्न चाहेको खण्डमा https://donation.esewa.com.np मा गएर रकम योगदान गर्न सकिन्छ। इ–सेवाका ग्राहकले आफूले चाहेको रकम, नाम, ठेगाना, र मोबाइल नम्बर प्रदान गरी रकम योगदान गर्न सक्छन्। त्यस्तै इ–सेवाको अकाउन्ट नभएकाहरूले भने आफ्नो मोबाइलको मोबाइल ब्याङ्किङ एपमा रहेको “फोन पे“ विकल्पमा “helpterai” कोड प्रयोग गरेर पनि रकम योगदान गर्न सक्छन्। देशभरि रहेका इ–सेवाका एजेन्टहरूमा रकम प्रदान गरी यो अभियानमा सहयोग पुर्या उने प्रावधान रहेको बारे पनि निश्चल बस्नेतले बताए।