PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

माओवादी केन्द्रले चिनियाँ प्रतिनिधिमण्डललाई भन्यो– नेपालमा लगानी बढाउनुस्



रासस

माओवादी केन्द्रले चिनियाँ प्रतिनिधिमण्डललाई भन्यो– नेपालमा लगानी बढाउनुस्

काठमाडौँ :  नेकपा माओवादी केन्द्रले नेपालको भौतिक विकास र पूर्वाधार निर्माणमा लगानी बढाउन चिनियाँ पक्षलाई आग्रह गरेको छ ।

नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग मंगलबार करिब एक घण्टा भएको भेटवार्तामा माओवादी केन्द्रले लगानी बढाउन चिनियाँ पक्षलाई आग्रह गरेको हो । 

नेपालको विकासका लागि विभिन्न मुलुकको सहयोग भइरहेको सन्दर्भमा चिनियाँ लगानी र प्रविधि मुलुकका लागि अत्यावश्यक रहेकोमा जोड दिँदै माओवादीले ‘वान बेल्ट वान रोड’ रेलमार्ग, सडक यातायातलगायत क्षेत्रमा गरेको लगानी र सहयोग उल्लेखनीय रहेको बताएको थियो। 

चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटवार्तापछि माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आपसी हित र चासोका विविध आयामका बारेमा छलफल भएको जानकारी दिइन्।

आफ्नो निमन्त्रणामा नेपाल भ्रमण गरेका उपप्रधानमन्त्री वाङलाई धन्यवाद दिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले अगाडि बढाएका सम्झौता र सहमतिलाई कार्यान्वयन गर्न समेत आग्रह गर्नुभएको प्रवक्ता भुसालले बताइन्। 

स्थानीय तहको निर्वाचनपछि मुलुक संविधान कार्यान्वयनको दिशामा अगाडि बढेको र निकट भविश्यमा नै संघ र प्रदेशको समेत निर्वाचन गराउने तयारीमा आफूहरु समेत सम्मिलित सरकारले प्रक्रिया अगाडि बढाएको भन्दै भेटका क्रममा अध्यक्ष दाहालले चीन सरकारको सहयोग नेपाल र नेपाली जनताका लागि आवश्यक रहेकामा जोड दिएका थिए। 

आफ्नो नेतृत्वको सरकारले अगाडि बढाएका भौतिक विकासका एजेण्डामा चीन सरकारको तर्फबाट महत्वपूर्ण सहयोग प्राप्त भएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष दाहालले आगामी दिनमा थप सहयोग र चिनियाँ लगानी भित्र्ने विश्वाससमेत व्यक्त गर्नुभएको प्रवक्ता भुसालले जानकारी दिइन्। 

नेपाल राजनीतिक स्थिरताको चरणमा अगाडि बढेको र आर्थिक विकासमा आफ्नो पार्टी प्रतिबद्ध भएर लागेको र अन्य दलकोसमेत एजेण्डा आर्थिक विकास नै भएको भन्दै अध्यक्ष दाहालले भेटवार्तामा चिनियाँ सहयोगको प्रशंसा गरेका थिए। 

यस्तै माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीबीच जनस्तरसम्म सम्बन्ध विस्तार, भ्रमण आदानप्रदान तथा आपसी हितका विषयमा खुलेर छलफल भएको प्रवक्ता भुसालको भनाइ छ। 

उपप्रधानमन्त्री वाङले नेपाल भ्रमण गर्न पाएकामा आफूलाई खुसी लागेको भन्दै नेपालको आर्थिक विकासमा सहयोग गर्न चीन सरकार सधैँ तत्पर रहेको बताएका थिए। उनले दुई देशबीच लामो समयदेखि रहँदै आएको मैत्री सम्बन्धलाई आगामी दिनमा थप नयाँ उचाईमा उठाउने विश्वास व्यक्त गरेका थिए। 

नेपालको विकास र समृद्धिमा माओवादी केन्द्रले खेलेको महत्वपूर्ण भूमिकाको उपप्रधानमन्त्री वाङले प्रशंसा गरेका थिए। ‘वान बेल्ट वान रोड’ परियोजनामा दाहाल नेतृत्वको सरकारले हस्ताक्षर गरेको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell