
काठमाडौं : नेपाल लगायत एसियाका नन टेष्ट प्लेइङ नेशनहरुका लागी अब विभिन्न खालका एसियाली प्रतियोगिताहरु खेल्ने अवसर मिल्ने भएको छ।
एसियाली क्रिकेट परिषद् एसीसीले आफ्नो सखस्य राष्ट्रहरुबीच विभिन्न उमेर समूहका क्रिकेट प्रतियोगिताका साथै महिला पुरुष दुवैको सिनियर प्रतियोगिता पनि गर्ने भएको छ।
श्रीलंकामा सम्पन्न एसीसीको ३४औँ साधारण सभाले एसीसी यू-१६ प्रतियोगितालाई पून: सुचारु गर्ने मुख्य निर्णय गरेको हो।
यस्तै यू-१६ सँगै यू-१९, यू-२३/ इमर्जिङ प्रतियोगिता लगायत पुरुषको सिनियर प्रतियोगिता र महिला एसिया कप समेत निरन्तरता दिने भएको हो।
एसीसीले गत वर्ष महिला एसिया कप आयोजना गरेको थियो।
यस्तै एसीसीको कार्यकारी समितीको बैठकले यू-१९ एसिया कप आगामी नोभेम्वरमा मलेसियामा गर्ने निर्णय पनि गरेको छ। एसीसी डेभलपमेन्ट कमिटीको प्रस्तावमा एसीसी इमर्जिङ कप पनि अबदेखि बार्षिक रुपमा हुने भएको छ।
मलेसियन क्रिकेट एसोसियसनका अध्यक्ष महिन्दा भालिपुरमले यू-१९ एसिया कप आयोजनाको अवसर दिएको धन्यवाद व्यक्त गर्दै त्यसलाई सफल बनाउन प्रयास गर्ने बताए।
एसीसीका पाकिस्तानी अध्यक्ष नजाम सेठीको अध्यक्षतामा बसेको साधारण सभाल बैठकले वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र एसीसीका विकास योजनाहरुमा छलफल गरेको थियो भने त्यसलाई सदस्य राष्ट्रहरुले पारित समेत गरेको छ।