काठमाडौँ: नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा ६५ प्रतिशतसम्म ऋण दिने व्यवस्था अनुसार निर्देशिका जारी भएपछि ३५ प्रतिशत मात्रै डाउन पेमेन्ट तिरेर गाडी किन्न पाइने भएको हो।
यो व्यवस्थापछि प्यासेन्जर भेहिकलको व्यापार बढ्नेछ। राष्ट्र बैंकले मौद्रिक नीति जारी भएको झण्डै चालिस दिनपछि निर्देशिका जारी गरेको हो। यो निर्देशिका जारीपछि बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्नेछन्।
नेपाल अटोमोबाइल डिलर्स एशोसिएशनका अनुसार मौद्रिक नीतिमा व्यवस्था भए अनुसार निर्देशिका नआउँदा व्यापार थप ठप्प भएको थियो। एशोसिएशनका अनुसार गाडी किन्न शोरुममा जाने ग्राहक पनि ५० प्रतिशत मात्रै ऋणका कारण फर्किएर जाने गरेका थिए। एशोसिएशनका अनुसार नयाँ व्यवस्थासँगै निजी सवारी साधनको बिक्री बढ्नेछ।
अघिल्लो आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत निजी गाडीका लागि ५० प्रतिशत ऋणको सीमा तोकेको थियो। यो व्यवस्थाले निजी सवारी साधनको बिक्रीमा ब्रेक लागेको थियो। सवारी साधनको बिक्री घटेपछि राजस्व समेत प्रभावित भएको थियो। राजस्व प्रभावित भएपछि अर्थमन्त्रालयले समेत ऋणको सीमा बढाउन राष्ट्र बैंकलार्इ आग्रह गरेको थियो। नाडा अटो शोको पूर्वसन्ध्यामा भएको यो व्यवस्थाले प्यासेन्जर भेहिकलको व्यापार बढ्नेछ। विद्युतीय सवारी साधनको लागि भने २० प्रतिशत मात्रै डाउन पेमेन्ट तिरे पुग्छ।