PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

मर्नेलाई कोशीमा बगाइयो, बाँच्नेहरु राहतको पर्खाइमा तड्पिरहेका छन् : सप्तरीबाट स्थलगत रिपोर्टिङ



सागर बुढाथोकी

मर्नेलाई कोशीमा बगाइयो, बाँच्नेहरु राहतको पर्खाइमा तड्पिरहेका छन् : सप्तरीबाट स्थलगत रिपोर्टिङ

सप्तरी : बाढीका कारण ज्यान गुमाएका एक बालकलाई कोशीको भेलमै सद‍्‍गत गरेको फोटोसहितको समाचार मिडियामा आएपछि धेरै चर्चा भयो, सबैले दुःख व्यक्त गरे। तर मंगलबार हामी त्यहाँ पुग्दा अहिलेसम्म सरकारले प्रभावकारी राहत पुर्‍याउन नसकेको देखियो। 

‘आइतबार बिहान ८ मात्र बजेको थियो। लगातार तीन दिनदेखि पानी परेकाले हामी बिहानदेखि  नै सजग भएर बसेका थियौ। बस्तीमा एक्कासी बाढी पस्यो। सबै जना भागभाग गर्न थाले। म पनि  मेरो बच्चा बोकेर भागेँ। भाग्दाभाग्दै बाढीले डुबायो । मेरो छोरो कमलुलाई मेरो आँखाको अगाडि बाढीले बगायो । कमलु मेरो आँखाको अगाडि डुब्यो । अनेक प्रयास गरेर जसोतसो झिकेँ। कमलु बेहोस भइसकेको थियो ।अस्पताल लाने क्रममा बाटैमा मर्‍यो। मैले जेठो छोरो बचाउन सकेँ। तर,कान्छालाई सकिनँ ', सप्तरीको कुलाडी गाँउकी विमली देवी सदाले वेदना पोखिन्। दुई दिनसम्म बस्ती डुबानमा परेपछि कमलुको काका देवकुमार सदाले उनलाई बगाइदिए। 

उनी भन्छिन्, ‘हामी गरिबको छोराछोरी उपचार नपाएर मर्छन्। अहिले बाढीले  डुबान छ, राहत आएको छैन,  औषधि र खान नपाएर अझै कति मर्छन्। तर, सरकारले अझै देखेको छैन।’

उनी अहिले शोकमा डुबेकी छिन्। उनको पेटमा न त पानी परेको छ, न त अन्न नै । बाढीले सबै बगाएपछि लाउने एकसरो लुगा समेत छैन। उनी खुल्ला आकाशमुनि राहतको प्रतिक्षमा भौतारिरहेकी छिन्। उनीजस्तो त्यहाँ ३ सयभन्दा बढी राहत पाउने आशमा बसिरहेका छन्।

‘कमलु मरेको दुई दिन भइसकेको थियो। उसको बुवा आउने ठेगान थिएन। मरेको मान्छेलाई धेरै दिनसम्म राख्न मिल्दैन थियो। हाम्रो चलन मरेको मान्छेलाई गाड्ने र जलाउने हो। गाड्न र जलाउन ठाउँ नभएपछि गाउँलेहरुको सल्लाह अनुसार नै बगाएको हुँ,’ काका देव कुमारले गहभरी आँसु पार्दै भने ‘त्यतिबेला भाउजु मलाई पनि सँगै बगाऊ भन्दै रुनुभएको थियो। उहाँलाई सम्हाल्न गाह्नो भएकोअवस्थामा मेरो मन पनि भारी भएको थियो। मैले के गरिरहेको थिएँ,  म आफैलाई थाहा थिएन। मैले बच्चालाई कसरी लगेँ, कसरी बगाएँ, त्यतिबेला मेरो दिमागमा के सोच आएको थियो मलाई केही थाहा छैन। म एकोहोरो भएको थिएँ। कमलुलाई बगाएपछि मुटुमा भक्कानो छुटेर आयो।  जीउ शिथिल भयो। मन धरधरी रोएपनि आँखाबाट आँसु आएन। केही बोल्न सकिनँ।’
 मृतकका बुवा जो हिजोमात्र यहाँ आइपुगे।

कमलुका बुवा फुदन हिजो मात्रै धरानबाट त्यहाँ आइपुगेका छन्। उनी गाउँ डुबानमा पर्दा धरानमा थिए।  छोराछोरीको सपना पूरा गर्न मजदुरी गर्न धरान पुगेका फुदन विपतमा छोराछोरीको साथ रहन सकेनन्। अहिले उनलाई त्यही कुराले पिरोलेको छ। उनी आँसु मात्र झार्छन्। आफ्नो परिवारको साथ नहुँदा छोरो गुमाउनु परेको पीडा शब्दमा व्यक्त गर्न सक्दैनन्।

छोरा मरेको खबर पाउने बित्तिकै फुदन धरानबाट पैदल नै घर हिँडे। किनभने गाडी चढ्न पैसा थिएन। धरानदेखि उसको घरसम्म लगभग १३० किलोमिटरको दुरी थियो। गाडीभाडा १५० मात्र लाग्थ्यो। काम गरेबापत उसले साहुसँग ३ हजार लिन बाँकी थियो। अनेक बिन्ती बिसाउँदा पनि एक पैसा दिएनन्। खल्तीमा एक पैसा नभएपनि उनी हिँड्दै आए। दुई दिन  लगातार हिडाइँ र एक रात खुल्ला आकाशमुनि बास बसेर बल्लतल्ल घर आइपुगे । घर आइपुग्दा उनले आफ्नो छोराको अन्तिम पल्ट अनुहार हेर्न पाएनन्। किनकि, उनी आउनु अघिल्लो दिन नै उनको भाइ देव कुमारले कमलुलााई बगाइसकेका थिए।

भन्छन्, ‘साउलाई अनेक बिन्ती गर्दा पैसा दिएन। भाडा नभएर आउन ढिलो भयो। यता छोरालाई अन्तिम पल्ट देख्न पाइनँ। मेरो कर्म नै यस्तो रहेछ।'

फुदन सामान्य ज्याला मजदुरी गरेर आफ्नो परिवार पाल्छन् । कामको सिलसिलामा उनी विभिन्न ठाउँ पुग्ने बताउँछन्। ज्याला मजदुरीबाट आएको पैसाले उनको परिवार चलिरहेको छ। खेती किसानी गर्नको लागि उनको आफ्नै जग्गा छैन। 

गाउँको रामजानकी स्कुलमा उनका दुई छोरा पढिरहेका थिए। जेठो छोरा लालकु सदा  ८ कक्षामा पढ्छन् भने कमलु भर्खर स्कुल जान थालेका थिए।

अहिले कुलाडी गाउ डल्वा गाउँपालिकाका सबै घर विस्थापित छन्। घरमा बाढी पसेकाले उनीहरु सडकमा बसेका छन्। तीन दिनदेखि पानी समेत खान नपाएर उनीहरु बिरामी पर्न थालेका छन्। झाडापखाला, ज्वरो, चिलाउने रोगले ग्रसित उनीहरुको पेटमा अन्न परेको छैन् । औषधि उपचार नपाएर महामारी फैलने स्थितिमा छ।

मृतकका बुवा फुदन भन्छन्, ‘न खानको लागि कसैसँग अन्न छ। न बस्नको लागि बास। भएभरको सबै बाढीले बगायो । फेर्नको लागि एकसरो लुगा समेत छैन। मर्ने त मरिगए, हामी बाँच्ने पनि तड्पिएर मर्ने भयौँ।'

त्यहाको स्थानीय जनक सदाका अनुसार बाढी डुबान गरेको तीन दिनपछि सरकारी टोली आएर तथ्यांक संकलन गरेका छन्। तर, अहिलेसम्म राहत केही आएको छैन।

उनी भन्छन्,  ‘भूकम्पपीडितले वर्षौदेखि राहत नपाएको समाचार सुनिएको छ। खै हामीले के पो राहत पाइएला र? हामी झन् मधेशका पर्‍यौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell