PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

बाढीले बगाएर भारत पुर्‍याएको  गैंडा नेपाल ल्याउने तयारी



रासस

चितवन :  बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पुर्याएका दुर्लभ एकसिँगे गैँडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउन गृहकार्य थालिएको छ। 
हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन्। 
निकुञ्जको टोलीसहित दुई दिनदेखि भारतीय क्षेत्रमा गैंडाको खोजी गर्दै आएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालकाअनुसार बाल्मिकी नगरबाट ४२ किलोमिटर दक्षिणपूर्व बगाहा भन्ने भारतीय गाउँमा दुई वर्षको गैँडा देखिएको छ।

नदीले बगाएर लगेपछि त्यहाँ उत्रिएको सो गैंडालाई ल्याउने प्रयास थालिएको उनले बताए। यस सम्बन्धमा भारतीय अधिकारीसँग कुराकानी भइसकेको भन्दै उनले नारायणगढ–बुटवल सडक खण्डको दाउन्नेमा बाटो सुचारु भएमा सो गैँडा आजै ल्याइने बताए। 

सौराहाबाट गैंडा लिन प्राविधिक टोली आज त्यसतर्फ गएको छ। भारतीय बाल्मिकी टाईगर रिजर्बका डिएफओ र सरकारी अधिकारीसँग समन्वय भइसकेकाले बाटो सुचारु भएलगत्तै काम अघि बढ्ने उनले बताए। बाढीले अर्को एक गैँडा भारतकै बाल्मिकी नगरमा पुर्याएको छ। 

त्यसैगरी नवलपरासीको नर्सही भन्ने ठाउँमा एउटा, त्रिवेणी मध्यवर्ती सामुदायिक वनमा एउटा र बाल्मिकी आश्रममा एउटा गैंडा भेटिएका छन्। यी गैँडा जंगलमा रहेकाले पानीको मात्रा घटेपछि उद्धार गरी निकुञ्जमा ल्याइने छ। 

बाढीकै कारण डुमरिया पोष्टमा एक रतुवा र एक चित्तल, अमलटारी क्षेत्रमा दुई चित्तल, ध्रुवमा एक चित्तल, निकुञ्जभित्रको सेरीमा एक चित्तल मृत भेटिएका छन्।

राप्ती र नारायणीको बाढीले अरु धेरै जनावर बगाएको र मरेको अनुमान गरिएको छ। यद्यपि पहिलोचरणमा दुर्लभ वन्यजन्तुको खोजीलाई तीव्रता दिइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell