काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षाको पाठ्यक्रमलाई रोजगारी र उत्पादन अभिवृद्धि तथा प्राकृतिक जोखिम न्यूनीकरण गर्ने व्यावहारिक शिक्षा अनुकूल बनाउनुपर्ने बताएका छन्।
पोखरा विश्वविद्यालयको अठारौँ साधारणसभालाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्रीले वैज्ञानिक, व्यावहारिक र रोजगारमूलक शिक्षाको पठनपाठन तथा विस्तारमा जोड दिएमा मात्र विश्वविद्यालयका उद्देश्यहरू हासिल हुने बताए।
प्रधानमन्त्री देउवाले विश्वविद्यालयको नवनिर्मित केन्द्रीय प्रशासनिक भवनको उद्घाटन तथा प्राज्ञिक भवन कम्प्लेक्सको शिलान्यास कुलपतिको हैसियतमा आफूले २०५८ साल माघ ७ गते गरेको स्मरण गर्दै अहिले विश्वविद्यालयले गरेको विकास, विस्तार र दायरा फराकिलो भएको पाइएकोमा खुसी व्यक्त गरे।
उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले लगभग ३० हजार विद्यार्थीले अध्ययन गर्ने र वर्षेनी लगभग पाँच हजार दक्ष एवम् सीपयुक्त जनशक्ति उत्पादन गरेको विश्वद्यालयको थप विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने बताए।
उपकुलपति प्रा चिरञ्जीवी शर्माले प्रस्तुत गरेको वार्षिक नीति र कार्यक्रममा प्राप्त सुझाव समेटेर १० दिनभित्र कुलपतिले पारित गर्ने निर्णय भएको जनाइएको छ। रासस