PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

गरिबी निवारण कोषबाट कञ्चनपुरका तीन हजार परिवार लाभान्वित



रासस

गरिबी निवारण कोषबाट कञ्चनपुरका तीन हजार परिवार लाभान्वित

  •  शेरबहादुर सिंह 
भीमदत्तनगर : मुक्तकमैया, दलित तथा विपन्न समुदायको आयस्तर उकास्न कञ्चनपुरमा गरिबी निवारण कोषले लागू गरेको कार्यक्रमबाट तीन हजार ६७१ परिवार लाभान्वित भएका छन्। 

गरिबी निवारण कोषले एक दशकयता विपन्न समुदायलाई विभिन्न आय तथा रोजगारमूलक कार्यक्रममा हालसम्म चार करोड ८९ लाख रकम अनुदान विभिन्न समूह र सहकारीलाई प्रदान गरिसकेको छ। 

कञ्चनपुरमा नेपाल राष्ट्रिय समाजकल्याण सङ्गघ (एनएनएसडब्लूए)मार्फत कोषले यहाँका पाँचवटा नगरपालिकामा कार्यक्रम लागू गरेको छ।

कोषको सहायताबाट विपन्न समुदायको आयस्तरमा वृद्धिका साथै सामाजिक रुपमा पनि उनीहरुको वृद्धिविकास भएको नेपाल राष्ट्रिय समाज कल्याण सङ्गघ(एनएनएसडब्लूए) गरिबी निवारण कार्यक्रमका संयोजक टेक बुढाले जानकारी दिए। 

कोषको छनोटमा परेका दलित, मुक्तकमैया र विपन्न समुदायमा सुरुवातमा कोषले विभिन्न समूह स्थापना गरी अनुदान दिएर समुदायलाई आवद्ध गराइ आयमूलक व्यवसायमा लाग्न प्रेरित गरेको थियो। ‘चार करोड ८९ लाखबाट अहिले समूह र सहकारीले करिब रु सात करोड १७ लाखभन्दा बढी रकम जुटाइसकेका छन्,” संयोजक बुढाले भने–‘कोषको अनुदानले गरिबीको रेखामुनी रहेका समुदायमा ठूलो परिवर्तन ल्याइदिएको छ।’ 

लामो समय साहुजनको कमैया बसेर मुक्त भएपछि सरकारले दिएको पाँच कठ्ठा जग्गामा श्रम खर्चेर परिवार पालिरहेका यहाँका विभिन्न मुक्तकमैया शिविर र करिब आठ सय दलित परिवार लाभान्वित बनेका छन्।

कोषले सुरुवातमा व्यावसायिक तरकारी खेती, बंगुरपालन, कुखुरापालन, पशुपालन, खुद्रा व्यापारलगायत आयमूलक कामका लागि समूहमार्फत किसानलाई लगानी गरेको थियो। 

एक सय ४७ वटा सामुदायिक समूह र १० वटा सहकारीसमेत सञ्चालनमा रहेको बताउँदै गरिबी निवारण कोषले कञ्चनपुरमा कोषको कार्यक्रम फलदायी भएको जनाएको छ।

अहिले समूह र सहकारीमा आवद्ध भएर जग्गा समेत भाडामा लिई मुक्तकमैया तरकारीखेती गरेर मनग्य आम्दानी गरिरहेका छन्। 

कृष्णपुर नगरपालिका –४ किचाही शिविरमा रहेको कोष अन्तर्गतको चौधरी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक शान्ति चौधरी गाउँमै सहकारी सञ्चालन गरेर किसानलाई बैंकको ऋण लिँदा भोग्नुपर्ने समस्याबाट मुक्त गरेको बताउँछिन्। 

उनले विगतमा बैंक तथा वित्तीय संस्थाबाट मुक्तकमैयालाई ऋण लिन निकै सकस हुने गरेको बताइन्। अहिले मुक्तकमैया मात्रै ३४० जना शेयर सदस्य छन्।

अहिले सहकारीले ८६ लाखको कारोबार गरिरहेको छ। किसान तरकारी खेतीलगायत व्यवसायमा लागेको र युवालाई अध्ययन तथा वैदेशिक रोजगारका लागि सहकारीबाट सहुलियतमा ऋण लेनदेन गर्न सहज भएको चौधरीको भनाइ छ। 

जिल्लामा गरिबी निवरण कोषबाट लाभान्वित हुनेमा दुई हजार ४०० परिवार जनजाती, आठ सय परिवार दलित र ३३३ परिवार अन्य समुदायका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell