
काठमाडौं : पटक-पटक मिति तोक्दै रोकिदै आएको ए डिभिजन लिगको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर १४ को नयाँ मिति तोकेको छ।
बुधबार बसेको एन्फा कार्यसमितको बैठकले मंसिर १४ (नोभेम्वर ३०, २०१७) देखि लिग आयोजना गर्ने निर्णय गरेको हो।
यस्तै अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षमा बसैको बैठकले ए डिभिजन क्लब थ्री स्टार क्लबलाई क्षतीपूर्ती दिने विषयमा समेत सहमति गरेको जनाएको छ।
थ्रि स्टारकै विषयमा सहमती हुन नसक्दा साउन १२ गते बस्ने भनिएको बैठक नबसीकनै अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको थियो र आजका लागि बैठकको मिति तय गरिएको थियो।
एन्फाको गम्भिर गल्तीका कारण थ्री स्टारले छनोट भएर पनि एएफसी एसियन च्याम्पियनसिप खेल्नबाट बञ्चित हुनुपरेको थियो।
उक्त विषयमा अनुसन्धान गर्नका लागि एन्फाको बरिष्ठ उपाध्यक्ष मणी कुवँरको संयोजकत्वमा कार्यसमिती सदस्य गणेश बहादुर चन्द र दीनेश ब्यान्जनकार रहेको तीन सदस्यीय समेत गठन गरेको छ। उनीहरुलाई दश दिनभित्र प्रतिवेदन तयार पारी अध्यक्षलाई बुझाउन निर्देशन समेत दिइएको छ।
बैठकले सोही समितीलाई नै क्षतीपूर्तीको लागि व्यवस्था गर्न पनि भनेको छ।
यस्तै बैठकले आगामी अक्टोबरमा अतिरिक्त कंग्रेस बस्ने र २०१८ जनवरी ७ मा एन्फाको चुनाव गर्नका लागि एएफसीबाट सहमती माग्ने निर्णयक समेत गरेको छ।
यसैगरी बैठकले आगामी सेम्टेमवरमा नेपालमै हुने एएफसी यू-१६ च्याम्पियनसिप समूह डी को छनोट खेल, एएफसी एसियन कप २०१९ छनोट, साफ यू-१८ च्याम्पियनसिप र एएफसी यू-१९ च्याम्पियनसिप २०१८ छनोटका लागि लाग्ने खर्च र व्यवस्थापनको बारेमा पनि छलफल गरेको छ।
सेप्टेम्वर २० देखि २४ सम्म नेपालमा हुने यू-१६ छनोटका लागि साढे ८५ लाख लाग्ने र आन्तरिक स्रोतबाटै उक्त रकम जुटाउने जनाएको छ। यस्तै साफ यू-१८ च्याम्पियनसिप र एएपसी यू-१९ छनोटका लागि करिब २७ लाख खर्च लाग्ने बताएको छ।
यस्तै राष्ट्रिय फुटसल लिग र एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि लाग्ने खर्चको बारेमा समेत छलफल भएको छ।
यसबाहेक एन्फा बैठकले एएफसीको डेभलपमेन्ट प्रोग्रामअन्तर्गत काठमाडौं, नवलपरासी र मकवानपुरमा गरी कूल ३ वटा मिनी पिच निर्माण गर्ने निर्णय गरेको छ भने बंगलादेशमा हुने एएफसी यू-१५ गर्ल्स च्याम्पियनसिपमा सहभागी हुने निर्णय गरेको छ।