PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

बाबुराम कमजोर नेतृत्व क्षमता भएका नेता हुन : रामचन्द्र झा



आकाश क्षेत्री

बाबुराम कमजोर नेतृत्व क्षमता भएका नेता हुन : रामचन्द्र झा

एमाले हुँदै तत्कालीन एकीकृत माओवादी र अहिले नयाँ शक्ति नेपाल पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका रामचन्द्र झा तीन पटक संसदीय निर्वाचनमा एमालेका उम्मेदवार थिए। पञ्चायतकालमा लामो समयसम्म अर्धभूमिगत भएर राजनीति गरेका झा ०५१ सालमा धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।  एमाले, माओवादी र नयाँ शक्ति हुँदै फेरि माओवादी केन्द्रमै फर्किएका झासँग उनको राजनीतिक यात्राबारे पहिलोपोस्टका आकाश क्षेत्रीले गरेको कुराकानीको अंश:

 

तपार्इँको नजरमा नेपालको राजनीति अहिले कुन अवस्थामा छ?

अहिलेको अवस्थामा नेपालको राजनीति विमतिबीच सहमतिको खोजी भइरहेको छ। संविधान निर्माण भएपछि संविधानको सर्वस्वीकार्यताका लागि आ-आफ्नो मोर्चाबाट सबै प्रयत्नशील छन्। संविधानको स्वीकार्यतालार्इ कसरी सर्वसम्मत गर्ने भन्नेबारेमा छलफल भइरहे पनि धेरै सकारात्मक ढंगले अगाडि बढ्न सकेको छैन।

प्रमुख प्रतिपक्ष दलसँगको वार्तालाप सही ढंगले अगाडि नबढिरहेको अवस्थामा एउटा सहमतिको जुन वातावरण बन्नुपर्ने हो त्यो बन्न सकेको छैन।

दोस्रो फेजको कुरा के हो भने प्रचलित राजनीतिक पार्टीहरु एक स्थानमा आएनन्। विकास निर्माणदेखि सुशासन जस्ता विभिन्न विषयमा गम्भीर भएका छैनन। राजनीति सकारात्मक रुपमा अगाडि बढिरहेको छैन।

 

माओवादीबाट नयाँ शक्ति र नयाँ शक्तिबाट फेरि किन माओवादीमै आउनु भयो?

संविधान निर्माण गर्दा बाँकी रहेका कुरा संशोधन गर्ने सहमति भएको थियो। संविधान बनेपछि माओवादीले उत्सव मनाउन थाल्यो। ‘नोट अफ डिसेन्ट’ राख्ने र उत्सव मनाउने अन्तरविरोधी कुरा भएकाले हामीलार्इ असहज भयो।

त्यही समयमा बाबुरामजीसँग मेरो कुराकानी भयो। उहाँ मधेशको पक्षमा हुनुहुन्थ्यो। यही घटनाक्रमले उहाँले माओवादीबाट राजीनामा दिनु भयो। र मधेशको आन्दोलनमा सहमति जनाउनु भयो।


केही समयपछि हामीले नयाँ शक्ति निर्माणको अभियान थालनी गर्‍यौँ। पार्टी संचालनमा आएपछि उत्साहपूर्वक काम अगाडि बढिरहेको थियो। त्यसको केही समयपछि पार्टीमा गुटबन्दी मौलायो बैधानिक ढंगले कसरी पार्टी कब्जा गर्ने, कसलार्इ पन्छाएर कसलार्इ अगाडि बढाउने, सहमतिद्वारा गर्नुपर्ने कामहरु एक्लै गर्ने जस्ता धेरै कुराहरु पार्टीमा देखापरे। त्यस्ता कुनै पनि कुरालार्इ नजरअन्दाज गरेर अगाडि बढ्ने काम भइरहेकै थियो। चुनावमा निर्वाचन चिन्ह नै नपाउने अवस्था समेत देखिएपछि पार्टीको नेतृत्व कमजोर जस्तो महसुस भइरहेको थियो। यत्तिकैमा माओवादी केन्द्रबाट प्रस्ताव आएपछि सोच्न बाध्य भएँ।

 

कहाँ चुक्यो नयाँ शक्ति?

पार्टी स्थापनापछि सबैको नजरमा 'नयाँ शक्ति नेपाल' माथि उठेको हामीले महसुस गरिरहेका थियौँ। तर केही समयपछि पार्टीभित्र गुटबन्दी बढ्यो।

हामीले नयाँ शक्तिलार्इ संघीय समाजवादी फोरम जस्ता पार्टीसँग एकता हुने कुरा उठायौँ। पार्टीका सबै नेताहरु यसमा सहमत थिए।

मेरो संयोजकत्वमा पार्टी एकता गर्ने भनेर दस्तावेज तयार भयो। म केही समयको लागि यूरोप भ्रमणमा जानु पर्ने भयो। मैले सबै जिम्मा बाबुरामजीलार्इ दिएर यूरोप भ्रमणमा गएँ। फर्कदा त एकता हुने भनेर पक्का भएको सहमति बिथोलिएको थियो। नयाँ साझा जस्ता पार्टीसँग एकताको कुरा भइरहेको थियो।

मैले मेरा केही साथीहरुलार्इ फोरमसँग एकता बिथोलिएको कारण बुझ्दा बाबुरामजीको नै गल्ती देखियो। बाबुराम भट्टरार्इजी असल र इमान्दार नेता हुनुहुन्छ उहाँका योजना र लेख पनि राम्रा हुन्छन्। तर, उहाँ तेतृत्व क्षमता कमजोर भएको नेता हुनुहुन्छ।    

 

एमालेमा जाने चर्चा थियो नि?

मेरो इच्छा एमालेमै फर्कने थियो। किनकी एमालेमा मेरो योगदान छ। लगानी छ। तर, एमालेका नेताहरुको विचार के छ म बुझ्दिन। अहिलेको एमाले नेतृत्वलार्इ रामचन्द्र झा टाढै बस्दा राम्रो लाग्यो।

मलार्इ केपी ओलीले कुरा गर्न बोलाउनु पनि भयो। तर, म गएपछि पटक-पटक तारेखमात्र दिएर पठाउनुभयो। त्यसरी अपमान सहन सकिँदैन। उहाँहरुले राजनीतिक मुद्दा सम्बोधन गर्न चाहनु पनि भएन।  

 

एमालेबाट माओवादीमा जानुका कारण के थिए?

म एमाले पार्टी निर्माण गर्न निरन्तर लागिपरेको मान्छेमध्ये एक हुँ। मैलै आफ्नो जीवनको तीन दशकभन्दा बढी समय एमाले पार्टीमा खर्चिएको छु। युवा अवस्थामा जुन किसिमको रगत, पसिना र उर्जा थियो त्यो सबै एमाले निर्माणमा लगाएको छु।

तर, संविधान निर्माणका क्रममा एमालेसँग मेरो अन्तर्विरोध उत्पन्न भयो। पार्टीका पूर्व निर्मित विषय थिए ती विषय पछिल्लो कालमा आएर लत्याइयो।

त्यसबेला मैले चाहेका केही मुद्दाका पक्षमा मओवादी उभिएको छ भन्ने जानकारी मलार्इ थियो। त्यसलार्इ विश्वास गर्दै म मओवादी प्रवेश गरेँ।  

 

अझै पनि एमालेले सम्मानका साथ तपार्इँलार्इ बोलाए जानुहुन्छ?

त्यो त अहिले नै भन्ने कुरै भएन। पार्टीले व्यक्तिलार्इ सम्मान गर्नुभन्दा राजनीतिक मुद्दालार्इ सम्मान गर्नु पर्छ। मधेश एमालेको विरोधमा छ भन्ने कुरा सबैलार्इ थाहा छ। केही समयपछि संविधान संशोधनको विषयमा कुरा उठ्ला उहाँहरु कता उभिनुहुन्छ भन्ने कुरा मुख्य हो।

संविधान संशोधनको विपक्षमा एमाले उभिन्छ भने मधेशको पनि विरुद्धमा एमालेलार्इ उभ्याइन्छ। एमालेको मुख्य नेतृत्व मधेशसँग सकरात्मक छैन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell