
काठमाडौं : एएफसी एसिया कप छनोटको लागि तयारी गर्न जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो हार बेहवरेको छ। बिहिबार बिहान ग्रीन साकाई कम्प्लेक्समा भएको खेलमा नेपाल जापानको अमिटिज स्पोर्ट्स क्लबसँग ५-० ले पराजित भएको हो।
अमिटिजका लागि यामातोमो दाईकी, योसिओका ताकुरो, ताकाहाशी तोशिकी, मोरिया ताकाजिन र होरिनो जुनले गोल गरे।
यसअघिका दुई खेलमा गोल गरेको नेपालले जापानको जापानिज रिजनल लिग खेल्ने अमिटिज क्लब विरुद्ध गोल गर्न सकेन। अमिटिज जापानको कानसाई सकर लिगमा डिभिजन वानमा रहेको टिम हो।
नेपालले शुक्रबार चौथो खेलमा हानान युनिभर्सिटीसँग खेल्नेछ।
पहिलो खेलमा गाम्बा ओसाका-२३ सँग १-१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा क्वानसेई गाक्वुइन युनिभर्सिटीलाई २-१ ले पराजित गरेको थियो।