PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

बाढीपहिरोका कारण सियरा लियोनमा करिव ३ सयको मृत्यु, एकहप्ता राष्ट्रिय शोक मनाइने



रासस

बाढीपहिरोका कारण सियरा लियोनमा करिव ३ सयको मृत्यु, एकहप्ता राष्ट्रिय शोक मनाइने
फोटो श्रोत: nytimes.com

फ्रिटाउन : राष्ट्रपति अर्नेस्ट बाइ कोरोमाले सियरा लियोनमा एक हप्ता राष्ट्रिय शोक मनाउने घोषणा गरेका छन्।  

अबिरल वर्षाका कारण गत सोमबारदेखि देशका धेरै ठाउँमा पहिरो र भू–स्खलनमा परी सयौँको मृत्यु भएको, सैयौँ बेपत्ता भएका र हजारौँ जनता घरबारबिहीन भएका कारण मृत्यु भएकालाई श्रद्धाञ्जली व्यक्त गर्न राष्ट्रिय शोक घोषणा गरिएको हो।

राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा देशभरका सबै कार्यालय तथा विदेशमा रहेका सियरा लियोनका सबै कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा १६ देखि २२ अगस्टसम्म आधा झुकाइने उल्लेख छ। 

साथै, मृतकलाई स्मरण गरी श्रद्धाञ्जली अर्पण गर्न एक मिनेट मौनधारण गर्न सम्पूर्ण देशवासीलाई आह्वान गरिएको छ। 

फ्रिटाउनको बाहिरी ग्रामीण इलाकामा गत सोमबारदेखि परेको लगातारको ठूलो झरीका कारण पहिरो जाँदा कम्तीमा दुई सय ९७ जनाको मृत्यु भइसकेको सियरा लियोनको आकस्मिक प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ। कम्तीमा छ सय मानिस पहिरोमा पुरिएको अनुमान गरिएको छ। 

त्यस्तै, पहिरोका कारण कम्तीमा तीन हजार मानिस घरबारबिहीन भएको सियरा लियोनस्थित अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ। मृत्यु हुने, बेपत्ता हुने वा घरबारबिहीन हुनेको सङ्ख्या अझै बढ्ने अनुमानसमेत गरिएको छ। 

पीडितहरुको उद्धार गर्न सयौँ सुरक्षाकर्मी, स्वयम्सेवकहरु, स्वास्थकर्मीहरु परिचालन गरिएका छन्। स्वयम्सेवकमध्ये ३० जना जति विदेशी उद्धारकर्मी पनि परिचालित भएका जनाइएको छ। 

अफ्रिकी राष्ट्रहरुले विगतका केही वर्षदेखि कुनै ठूला प्राकृतिक विपत्ति बेहोर्नु परेको थिएन। सियरा लियोनको यस घटनालाई विगतका केही वर्ष यताको सबैभन्दा भयावह विपद्को रुपमा हेरिएको छ। 

छिमेकी अफ्रिकी मुलुक नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारी, केन्याका राष्ट्रपति उहुरु केन्याटा, अफ्रिकी संघका अध्यक्ष मोउसा फकि महम्मतलगायत अन्य थुप्रै अफ्रिकी राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखहरुले सियरा लियोनका राष्ट्रपति समक्ष तत्कालै सहानुभूति व्यक्त गर्दै खाद्यान्न, लत्ता कपडा, औषधि तथा अन्य उद्धार सामग्रीहरु प्रदान गरी सहयोग गरिरहेका छन्। रासस/सिन्ह्वा/एपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell