PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

घरमुलीलाई नै बाढीले निलेपछि लालाबालाकै विचल्ली



राजेन्द्र आचार्य

घरमुलीलाई नै बाढीले निलेपछि लालाबालाकै विचल्ली

चितवनः  मजदुरीको भरमा परिवार पाल्दै आएका चितवनका एक चेपाङको बाढीले बगाएर मृत्यु भएपछि परिवारको विचल्ली भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–३ ओरेकमा बाढीमा परि मृत्यु भएका कमल बहादुर चेपाङको परिवार बिचल्लीमा परेको हो।

मजदुरी गरेर ६ जनाको परिवार पाल्दै आएका २२ वर्षीय कमलको साउन २८ गते खान्दीवाङ खोलाले बगाएर मृत्यु भएको थियो।  
उनी घरको कमाउन सक्ने एक मात्र मुली उनी थिए ।

'घरमा खाने अन्नपात छैन परिवार पुरै शोकमा छौं,' श्रीमती तारा चेपाङले भनिन्, ‘घर पनि यस्तो, बुबा आमा बुढो हुनुहुन्छ, बच्चाबच्चा साना कसरी पाल्ने ?’

कमाएर ल्याउने छोराको मृत्यु भएपछि अहिले उनका बाबुआमा भोकभोकै बसेका छन्। चितवनको पहाडी क्षेत्रमा बस्ने चेपाङ प्रायः गिठ्ठा भ्याकुर र मकैको भरमा दैनिकी चलाउने गर्छन्।

पाखोपखेरा नहुनेहरु मजदुरी गरेर परिवार चलाउँदै आएका छन् भने खेतबारी हुनेको पनि ६ महिना मात्रै खान पुग्छ। कमलका बाबु बिक्रमले भने,‘छोरोलाई पनि खोला लग्योे, हाम्रो अब को छ र खोइ सरकार पनि छैन। यस्तो दिनमा पनि कसैले सहयोग गरेको छैन। अहिलेसम्म राज्यको कुनै पनि निकाय सोध्न आएको छैन।’

यसैबीच, उनीहरुलाई उद्यमशील महिला जागरण केन्द्रले आर्थिक सहयोग गरेको छ। केन्द्रकी अध्यक्ष अप्सरा पौडेल, सल्लाहकार तथा माओवादी केन्द्र इच्छाकामना गाउँपालिकाका अध्यक्ष प्रताप गुरुङको उपस्थितिमा मृतक कमलबहादुर चेपाङको परिवारलाई नगद  १० हजार प्रदान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell