PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

प्रधानमन्त्री मध्य र सुदूरपश्चिमका बाढी प्रभावित क्षेत्रको भ्रमणमा



रासस

प्रधानमन्त्री मध्य र सुदूरपश्चिमका बाढी प्रभावित क्षेत्रको भ्रमणमा

नेपालगञ्ज : प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण मृत्यु भएका बाँकेको राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई आज नगद सहयोग वितरण गरेका छन्। 

गाउँपालिकाको कमैया डाँडामा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मृतक तीनजना बालिकाका बुबा कमिलाल थारुलाई छ लाखको चेक हस्तान्तरण गरे। सरकारले बाढीपहिरोमा मृत्यु भएका प्रत्येक परिवारका सदस्यलाई दुई लाख दिने निर्णय गरेको छ। 

साउन २८ गते राति राप्ती नदीमा आएको बाढीका कारण सो गाउँपालिका–४ लालपुरका एकै परिवारका १२ वर्षीया अञ्जु थारु, नौ वर्षीया सरिता थारु र सात वर्षीया सुस्मिता थारु दिदीबहिनीको मृत्यु भएको थियो। 

कार्यक्रममा प्रधानमन्त्री देउवाले त्यहाँ उपस्थित त्यस क्षेत्रका बाढीपीडित परिवारका सदस्यलाई तयारी खाद्यान्न चिउरा, चाउचाउ, दालमोठ, नून, खाने तेल, पिउने पानी र त्रिपाल प्रदान गरेका थिए। 

त्यस अवसरमा प्रधानमन्त्रीले बाढीपीडितलाई सम्बोधन गर्दै यस क्षेत्रमा पुनः बाढी आउन नदिने उपायको खोजी सरकारले गर्ने आश्वासन दिए। 

प्रधानमन्त्री देउवाले मुलुकका बाढीपीडितको उचित बसोबास, जीविकोपार्जनका लागि सरकारकातर्फबाट कुनै कसर बाँकी नराखिने उल्लेख गर्दै दैवी विपत्तिका बेला सबैले आ–आफ्नो तहबाट सहयोग गर्नुपर्ने बताए।

यसअघि नेपालगञ्ज राझास्थित नेपाली सेनाको चार नम्बर बाहिनी अड्डामा प्रधानमन्त्री देउवालाई मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागार्इं र नेपाली सेनाका पृतनापति कर्मेन्द्र लिम्बूले बाँके, बर्दिया, दाङ र सुर्खेतका बाढीपीडितको हालको अवस्थाका बारेमा जानकारी गराएका थिए।

यसैगरी, प्रधानमन्त्री देउवाले बाँकेका बाढी प्रभावित क्षेत्रको हवाई र स्थलगत अवलोकन पनि गरे। बाँके जिल्लाको कार्यक्रम सकेर प्रधानमन्त्री बर्दिया र कैलाली जिल्लातर्फ लागेका छन्।

प्रधानमन्त्री देउवाले बर्दियाको भादापुलस्थित गोलपार्क र कैलालीको टीकापुर भजनीमा त्यस क्षेत्रका बाढीपीडितसँग भेटघाट गर्ने र राहत उपलब्ध गराउने कार्यक्रम छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell