विराटनगर : विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ। साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको थियो।
विराटनगर विमानस्थलमा जमेको हिलो निकाल्नका लागि नेपाली सेना परिचालन गरिएको छ। करिब २०० को संख्यामा खटिएका नेपाली सेनाको टोली आलोपालो गरी लेदो हटाउनेलगायतका कार्यका जुटेको छ।
नागरिक उड्डयन कार्यालय, विराटनगरका प्रमुख सुरेशमान सिंहले मौसमले साथ दिएमा भदौ ३ गते अपराह्नदेखि नियमित उडान सुचारु हुने जानकारी दिए।
वर्षा र बाढीबाट भएको क्षतिको अहिले तथ्याँक संकलन कार्य नगरिएको र यतिखेर विमान सेवा सुचारु गर्नेतर्फ मात्र ध्यान केन्द्रीत गरिएको उनले बताए।
विमान उडान र अवतरणका लागि दिशानिर्देश गर्ने भिओआर उपकरणमा कुनै क्षति नभएकाले लेदो पखालेपछि नियमित उडान गर्न सकिने प्रमुख सिंहले बताए।
हटाइएको हिलोलाई व्यवस्थापन गर्नका लागि एउटा डोजर, दुईवटा ट्र्याक्टर र चारवटा दमकल परिचालन गरिएको छ। रासस