
सोल : दक्षिण कोरियाले उत्तर कोरियासँग फेरि वार्ता प्रस्ताव गरेको छ। प्रायः दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको सोलबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको छ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेका हुन्। उनले यस विषयमा आफू तयार रहेको भन्दै कोरियाली प्रायद्वीपमा बढ्दो तनाव कम गर्नका लागि पनि अब वार्ता नै एक विकल्प रहेको बताएका छन्।
यसअघि गत महिनामात्र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि छलफल गर्न समय माग गरेको थियो। त्यस समय पनि उनले वार्ताका लागि प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए।
तर सो प्रस्ताव हाल भने अघि बढ्न सकेको छैन। त्यसको महिनादिन पछि बिहीबार दक्षिण कोरियाली राष्ट्रपतिले उत्तर कोरियासँग फेरि शान्ति वार्ताको प्रस्ताव गरेका हुन्।
बिहीबार राजधानी सोलमा राष्ट्रिय टेलिभिजनमा गरेको सम्बोधनमा उनले उत्तरसँग वार्ता गरेर कोरियाली प्रायद्वीपमा देखिएको समस्या समाधान गर्न सकिने प्रस्ताव गरेका हुन्।
सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समय समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार रेडक्रसले वार्ता गर्ने प्रस्ताव गरेको थियो।
त्यस्तै गत महिनामात्र पनि दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि प्रस्ताव गरेको थियो।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोम गाँउमा वार्तागर्न प्रस्ताव राखेको थियो। त्यस स्थानमा यसअघि पनि यी दुई देशबीच वार्ता हुने गरेको थियो। त्यस विषयमा पनि उत्तर कोरियाले कुनै जवाफ पठाएको छैन। रासस/एएफपी