PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

दाङका बाढीपीडितलाई राहत वितरण



रासस

दाङका बाढीपीडितलाई राहत वितरण

दाङ :  तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा गठित प्रमुख विपद् व्यवस्थापन कोषमार्फत विभिन्न सङ्घसंस्थाले बाढीपीडितलाई आज राहत वितरण गरेका छन्। 

एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने उद्देश्यले गठित कोषले तुलसीपुर–१३ रनियापुर, अम्वापुर र दमारगाउँका ४२ घर बाढीपीडितलाई सिरक, तन्ना, पी फर्म, झुललगायतका सामग्री वितरण गरेको हो। 

यसैबीच, जिल्लास्थित महिला मानवअधिकार रक्षक सञ्जालले बाढीपीडित गर्भवती तथा सुत्केरी महिलालाई सुरक्षित आवास, पोषण, लत्ताकपडा, औषधि उपचार र मनोसामाजिक सहयोगका लागि आजदेखि ‘स्नेह केन्द्र’ सञ्चालन गरेको छ। 

तुलसीपुर उपमहानगरपालिकाका वडा नं १२ को पड्डामा केन्द्र स्थापना गरिएको महिला मानवअधिकार रक्षक सञ्जालका जिल्ला संयोजक सुष्मा गिरीले जानकारी दिइन्। 

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले केन्द्र उद्घाटन गर्दै गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यलाई ख्याल गरेर केन्द्र सञ्चालनमा ल्याएको बताए। 

त्यस्तै, बाढीपीडित समुदायमा सङ्क्रमण फैलिन नदिन तुलसीपुर उपमहानगरपालिकाले राप्ती अञ्चल औषधि व्यवसायी सङ्घको सहयोगमा बाढी प्रभावित क्षेत्र तुलसीपुर–१३ रनियापुरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। 

शिविरमा आएका पीडितलाई सामान्य रुघा खोकी, पेट दुख्ने, भाइरल फिवरलगायतका सामान्य रोग लागेको र उनीहरुलाई औषधिसमेत दिइएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य शाखाका वसन्तकुमार आचार्यले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell