PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

फाडु खोलाको तान्डव: बजेटको आधामात्रै ठाउँमा खर्च भएको भए हुन्थेन बेहाल 



सागर बुढाथोकी

फाडु खोलाको तान्डव: बजेटको आधामात्रै ठाउँमा खर्च भएको भए हुन्थेन बेहाल 

सप्तरी : गत शनिवार बाढीले गाउँ नै बगाएपछि सप्तरी कोइलाडी गाउँपालिका लौनियाका शिक्षक अमरनाथ झा गाउँलेहरुलाई सान्तवना दिन व्यस्त छन्। गाउँकै पढेलेखेका भएकाले पीडितहरु उनको शरणमा आएका छन्। बाढीले बित्यास पारेको यतिका दिनसम्म पनि सरकारी उद्धार टोली नपुग्दा उनीहरु अत्तालिरहेका देखिए।

‘बाढीले केही बाँकी राखेन। अन्नबिना त बाँचिन्छ होला, पानी खान नपाएर मरिने'भो।' ३ दिनभइसक्यो अन्नपानी पेटमा परेको छैन्,’ राजेश मण्डलले गुनासो पोखे, ‘लौ न हजुर केही सहयोग गरिदिनुपर्यो।’

मण्डलले हामीसँग सहयोगको हात जोडिरहँदा शिक्षक झाले उनलाई सम्झाए, ‘उहाँहरु सरकारी टोलीका हैन। उहाँहरु विवरण टिप्न आउनु भएको हैन।’

झाले सम्झाएपछि उनीहरुको घर देखाउन हामीलाई तानातान गर्न थाले। एकछिन अघिसम्म हामीलाई ‘मेरो घर यस्तो भयो हेरिदिनुस्’ भनेर तानातान गर्ने उनीहरु त्यसपछि भने बाढीले गरेको क्षति र सरकारको वेवास्ताको दुखेसो पोख्न  थाले।

शिक्षक झाका अनुसार सप्तरीको अधिकांश स्थानमा वर्षेनी डुबानमा पर्नेगर्छ। यस पटक धेरै नै क्षति भएकाले ध्यान केन्द्रित भएको हो। घरमा भण्डारण गरेको अन्नबाली मात्र हैन खेतको धान समेत नष्ट भएको छ यसपाला।  

लौनिया गाउँ  फाडु खोलाले डुबानमा पारेको हो। शिक्षक झाका अनुसार पहिला फाडु खोला सगरापुर भएर बग्थ्यो। अहिले धार परिवर्तन गरेर तिलाठी हुँदै बग्छ। फाडु नदी नियन्त्रणका लागि सरकारले वर्षेनी लाखौं बजेट छुट्याउँछ। तर, त्यहीका केही बाठाटाठा र स्थानीय मिलेर बजेट सिध्याउने गरेको झाको आरोप छ।

उनी भन्छन्, ‘सरकारले पठाएको बजेटको आधा मात्र खर्च गरेको भए अहिले यस्तो डुबानमा पर्ने थिएन। धनजनको क्षति भएर गाउँलेहरु भोकभोकै बस्नुपर्ने थिएन।

फाडु खोलाले वर्षेनी डुबानमा पार्न थालेपछि झाले गत साउन २३ गते सरकार, स्थानीय राजनीति दल र केही नेताहरुको विपक्षमा सर्वोच्चमा रिट हालेका बताए।

प्रशासन र स्थानीयबीच लामो समयदेखि विवाद छ यो नदीको विषयमा। फाडु नदी स्थानीयहरुको जग्गा भएर बग्छ। सरकारले फाडु नदीलाई त्यही जग्गामा नियन्त्रण गर्ने पहल थालेपछि स्थानीय विरोधमा उत्रिए। गाउँलेहरुले नदीमा परेको जग्गाको मुअब्जा मागेका थिए। प्रशासन गाउँलेहरुलाई मुअब्जा दिन तयार भएन। फाडु नदीलाई पहिलेकै धार सगरपुरमा फर्काउन पहल पनि गरेन। त्यही विवादले वर्षौदेखि दु:ख पाइरहेको झाले बताए।

सर्वोच्चले सरकारलाई साउन २९ गते फाडु खोला नियन्त्रण गर्न निर्देशन दियो। तर, बाढीको कारण त्यो त्यत्तिकै रह्यो।

शिक्षक झाले भने, ‘नदी नियन्त्रणको नाममा आएको बजेट पार्टी कार्यकर्ताले खाएका छन्। विकासको नाममा झारा टार्ने काम गरेका छन्। नदीको बालुवा गिट्टी सबै झिकिसके। चुरे पूरै सखाप। बाढी नआए के आउँछ। वर्षेनी आउँछ यो भन्दा बढी सखाप पार्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell