भक्तपुर : भक्तपुरमा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा सुरु भएको छ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका जिल्ला प्रबन्धक श्रीकृष्ण प्रजापतिले असार १ गतेदेखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आजदेखि स्वास्थ्य सेवा सुरु भएको जानकारी दिए।
भक्तपुर जिल्लामा हालसम्म तीन हजार ३४५ परिवारका १३ हजार ४७० जनाले स्वास्थ्य बीमा गराएका र त्यसबाट ७६ लाख ३२ हजार एक सय बीमा रकम संकलन भएको बताए।
जिल्लामा स्वास्थ्य बीमा गराउन तालिम प्राप्त ६७ जना दर्ता सहयोगी परिचालन गरिएको जानकारी छ। सुरुमा दधिकोट र चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र, भक्तपुर अस्पताल, कोरियामैत्री अस्पताल, थिमि, जनस्वास्थ्य सेवा केन्द्र च्यामासिंहबाट बीमाका सदस्यका लागि स्वास्थ्य सेवा कार्यक्रम सुरु गरिएको प्रबन्धक प्रजापतिले जानकारी दिए।
समितिले दधिकोट र चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्रलाई इसिजी, एक्सरे र एनलाइनर मेशीन प्रदान गरेको छ।
बीमा भएका बिरामीलाई उपचारका लागि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताल, शहीद गंगालाल हृदय रोग केन्द्र, मनमोहन कार्डियाक भास्कुलर सेन्टर, प्रसूति गृह थापाथली, पाटन अस्पताल, मानसिक अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर, भक्तपुर क्यान्सर अस्पताललगायत काठमाडौँ उपत्यका बाहिरका १९ वटा अस्पताल तोकिएको छ।
स्वास्थ्य बीमामा सहभागी हुनका लागि पाँचजनासम्मको परिवारले वार्षिक दुई हजार ५०० र त्यसभन्दा प्रतिव्यक्ति ४२५ का दरले बीमा शुल्क तिर्नु पर्नेछ।
त्यसबापत पाँचजनासम्मको परिवारले वार्षिक ५० हजारसम्मको उपचार सेवा र त्यसभन्दा माथिका परिवारले प्रतिव्यक्ति थप १० हजारको उपचार सेवा निःशुल्करुपमा लिन पाउने व्यवस्था गरिएको समितिका दर्ता अधिकारी रीता धितालले जानकारी दिइन्।
सरकारले आर्थिक वर्ष २०७३/७४ सम्मका बागलुङ, इलाम, बैतडी, अछाम, पाल्पा, म्याग्दी, कास्की, कैलालीमा शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम गत असार १ गतेदेखि भक्तपुर, मकवानपुर, चितवन, गोरखा, तनहूँ, जाजरकोट र जुम्लामा सुरु गरेको हो। रासस
