
संयुक्त राष्ट्रसंघ : सुडानका शरणार्थीको समस्या समाधान गर्न संयुक्त राष्ट्रसंघले सबैसँग आग्रह गरेको छ।
सुडानमा प्रायः सबैजसो दक्षिण सुडानी शरणार्थी रहेका छन्। दक्षिण सुडान र अन्यत्रका गरी त्यहाँ कम्तीमा पनि ६ लाख शरणार्थी रहेको तथ्याङ्क यसअघि नै सार्वजनिक भएको थियो।
ती शरणार्थीको समस्याबारे अध्ययन गर्न संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी आयोगका प्रमुखले हालैमात्र सुडानको भ्रमण गरेका थिए। सुडान भ्रमणका क्रममा आफूले यहाँका शरणार्थीको अवस्था नाजुक रहेको देखेको बताएका थिए।
उनले दाताहरुलाई उनीहरुको सहयोगका लागि ध्यानाकर्षण गराएका छन्। भ्रमणका क्रममा उनले सुडानका विदेशमन्त्री, गृहमन्त्री, प्रधानमन्त्री र अन्य अधिकारीहरुसँग भेटवार्ता र शरणार्थी समस्या समाधानका लागि आवश्यक परामर्श गरेका थिए।
हाल सुडानमा दक्षिण सुडानका र अन्य देशका गरी कम्तीमा पनि छ लाख शरणार्थी छन्। उनीहरु सुडानका विभिन्न चार वटा राज्यमा छरिएर बसेका छन्। सुडानले ती शरणार्थीका लागि गास बासको समस्या भएको यसअघिदेखि नै बताउँदै आएको छ।
दक्षिण सुडानमा बढ्दो हिंसा र आतङ्कका कारण सुडानमा शरणार्थी समस्या बल्झिएको छ। दक्षिण सुडानबाट सीमा पार भएर शरणार्थीहरु सुडान छिर्ने गरेका बताइएको छ।
केही वर्षयतादेखि दक्षिण सुडानमा हिंसा भड्किएको छ। जसका कारण ठूलो सङ्ख्याका शरणार्थी यहाँ आउने गरेका छन्। उनीहरु आधारभूत आवश्यकताबाट पनि बञ्चित हुनुपरिरहेको अधिकारीहरुको भनाई छ। रासस/सिन्ह्वा