
काठमाडौं : ओलम्पियन गौरिका सिंहले बिहिबारदेखि सुरु २०औँ राष्ट्रिय पौडी प्रतियोगितामा दुई वटा नयाँ कीर्तिमान बनाएकी छिन्। यस्तै १२ वर्षिय दोअना लामा र शुभम श्रेष्ठले पनि पहिलो दिन कीर्तिमान कायम गरेका छन्।
लण्डनबाट यसै प्रतियोगिताका लागि भनेर नेपाल आएकी गौरिकाले नेपाल आर्मी टिमबाट प्रतिस्पर्धा गर्दै महिला ५० मिटर बटरफ्लाई र महिला २ सय मिटर फ्रिस्टाइलमा नयाँ कीर्तिमान बनाइन्। ५० मिटर बटरफ्लाईमा उनले २९.४० सेकेण्डमा पूरा गर्दै सातौँ राष्ट्रिय खेलकुदमा सोफिया शाहले बनाएको कीर्तिमान तोडिन्। हिटमै कीर्तिमान बनाएकी गौरिकाले फाइनलमा भने २९.७८ सेकेण्डमा दूरी पूरा गरिन्।
गत वर्ष ब्राजिलमा भएको रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी बनेर चर्चा कमाएकी गौरिकाले २ सय मिटर फ्रिस्टाइलमा पनि सोफियाकै कीर्तिमान तोडिन्। गौरिकाले २०० सय मिटर फ्रिस्टायल २ मिनेट ११.९४ सेकेण्डमा पूरा गरिन्। सोफियाले १२औँ सागमा २ मिनेट १३. ३२ सेकेण्डको कीर्तिमान बनाएकी थिइन्।
गौरिका, दोअना र शुभम
यस्तै एपीएफकी १२ वर्षिय दोअना लामाले २ सय मिटर ब्रेडस्ट्रोकमा ३ मिनेट ७.२२ सेकेण्डको नयाँ कीर्तिमान बनाइन्। उनले दशौँ सागमा विविधा रिमालले बनाएको ३ मिनेट १२.८५ सेकेण्डको कीर्तिमान ११ वर्षपछि तोडेकी हुन्।
यसैगरी पुरुष २ सय मिटर ब्रेडस्ट्रोकमा शुभम श्रेष्ठले आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गरे। उनले २ मिनेट ३६.७५ सेकेण्डमा दुरी पूरा गर्दै २०१६ मा श्रीलंकामा भएको साउथ एसियन क्वाटिक च्याम्पियनसिपमा बनाएको २ मिनेट ४२.६२ सेकेण्डको कीर्तिमान भंग गरेका हुन्।
शुभ्मको उक्त कीर्तिमान तोडेका मध्यमाञ्चलका किरण कार्की दोस्रो भए। किरणले २ मिनेट ४२.१३ सेकेण्डमा दुरी पूरा गरे।
नेपाल पौडी संघको आयोजना आजदेखि सुरु भएको दुई दिने च्याम्पियनसिपमा १४४ खेलाडीको सहभागिता रहेको छ।