PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

मंसिर पहिलो साता नै दुवै निर्वाचन एकैसाथ गर्न आयोगको प्रस्ताव, चुनाव भने दुई चरणमा



रमेश वाग्ले

मंसिर पहिलो साता नै दुवै निर्वाचन एकैसाथ गर्न आयोगको प्रस्ताव, चुनाव भने दुई चरणमा

काठमाडौं : निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन एकै पटक गर्ने प्रस्ताव सरकारसामु पेश गरेको छ। आयोगले दुई चरणमा निर्वाचन सम्पन्न गर्ने गरी प्रस्ताव अघि सारेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज आयोगका पदाधिकारीसँग आसन्न दुई निर्वाचनका विषयमा छलफल गरेका थिए। 'हिमाली र पहाडी जिल्लाहरुमध्ये ३१ वटामा पहिलो चरणमा निर्वाचन गर्न प्रस्ताव गरेका छौं,' छलफलपछि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले पहिलोपोस्टसँग भने, 'दोस्रो चरणमा बाँकी जिल्लामा निर्वाचन गर्ने प्रस्ताव गरेका छौं।'

हिमाली जिल्लामा चिसो बढ्दा निर्वाचन सम्भव नहुने भएकाले आयोगले यस्तो प्रस्ताव अघि सारेको हो। प्रमुख आयुक्त यादवका अनुसार समानुपातिकतिर एक र प्रत्यक्षतर्फ केन्द्र र प्रदेशको एकै मतपत्र बनाउने प्रस्ताव आयोगले सरकारसामक्ष गरेको छ।

'यसमा उहाँहरु सकारात्मक देखिनुभएको छ,' यादवले भने।

आयोगले पहिलो चरणको निर्वाचन मंसिर पहिलो साता र दोस्रो चरणको निर्वाचन दोस्रो या तेस्रो सातामा गर्न प्रस्तावसमेत गरेको छ। हिमाली र उच्च पहाडी ३१ जिल्लामा मंसिर ४ र बाँकी ४४ जिल्लामा मंसिर २१ गते गर्ने प्रस्ताव आयोगले गरेको हो। तर मिति घोषणा भने हुन बाँकी छ। 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख तीन दलको बैठकमा दुई तहको निर्वाचन एकैपटक गर्ने सहमति भएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell