PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

कोशीमा बगाइएका कमलुको परिवारको पीडा: दाइ लालकु भन्छन्, ‘अब यहाँ बस्न पनि डर लाग्छ’



सागर बुढाथोकी

कोशीमा बगाइएका कमलुको परिवारको पीडा: दाइ लालकु भन्छन्, ‘अब यहाँ बस्न पनि डर लाग्छ’

सप्तरीः सप्तरी कुलाडी गाउँ पुग्ने अपरिचितहरुले लालकु सदालाई देख्ने बित्तिकै सोध्छन्, ‘तिम्रै भाइलाई हो कोशीमा बगाएको?’

उनी बोल्न सक्दैनन्। हो, भन्ने स्वीकृतिमा टाउको हल्लाउँछन्।

ती अपरिचतहरु उनीसँग कुरा गर्छन्। फोटो खिच्छन र बाटो लाग्छन्।

लालकुको दुःख सबैले सुन्छन्। महसुस गर्छन कि गर्दैनन् लालकुलाई थाहा छैन्।

त्रासदीपूर्ण त्यो दिन सम्झन उनलाई मन छैन्। तर, अरुलाई सुनाउन बाध्य छन्।

भाइलाई बगाएको ६ दिन भयो। आमाको छेउमा टुलुटुल हेर्दै उनी बसिरहेका छन्। रुँदारुँदै उनको आँसु सुकिसकेको छ। पानी पिउन नपाएर ओठ–मुख सुकेका छन्। खाना नपाएर पेट चाउरी परिसकेको छ। के गर्ने, कसो गर्ने बुवाआमाको आस गरेर बसिरहेका छन्।

बुवाआमाको अवस्था उस्तै नाजुक छ। उनीहरु अझै सम्हालिन सकेका छैनन्।

‘भाइलाई बचाउन सकिएन। आँखा अगाडि नै डुबायो।’ लालकुले सुनाए, ‘अब त मलाई स्कुल जान पनि मन लाग्दैन्। यो ठाउँमा बस्न नै डर लाग्छ। कुन दिन मलाई पनि बगाउने हो।’

बाढी आएको दिन लालकु आमासँग घरमै थिए। एक्कासी गाउँलेहरु भागाभाग गर्न थालेपछि उनी पनि बाहिर निस्के। बाहिर चारैतिर पानी नै पानी थियो। आमासँगै भाइलाई लिएर उनी पनि भागे। तर, भाइलाई बचाउन सकेनन्।

‘भाइलाई पानीमा बगाएको म हेर्न गइँन। आमा रोइरहनु भएको थियो। मलाई हेर्न जान दिएनन्। बुवा पनि आउनुभएको थिएन्।’ गहभरि आँसु पार्दै लालकुले सुनाए, ‘भाइलाई बगाएको यत्रो दिन भइसक्यो रुन मात्र मन लाग्छ। खाना पाएको छैन्। अब के गर्ने केही सोच्न सकेको छैन्।

बिमली सदालाई शनिबार मनमा डर लागिरहेको थियो। ४ दिनदेखि मुसलधारे पानी परिरहेको थियो। पानीले बाहिर निस्कन सक्ने अवस्था थिएन्। बाढी आउला भन्ने उनले सोचेकी थिइनन्। निरन्तरको पानीको कारण खानाको जोहो गर्न उनले सकेकी थिइनन्। श्रीमान घरमा थिएनन्। छोरा कमलु र लालकु भोकाइरहेका थिए। बिमली सोचमग्न थिइन्, ‘बच्चाहरुलाई खाना कसरी खुवाउने।’

गाउँले सबैको साझा समस्या थियो, ‘निरन्तर पानी परिरहेको छ, खाना कसरी जुटाउने। खाना कसरी पकाउने?’

‘बिहान ८ मात्र बजेको थियो। गाउँलेहरु घरबाट निस्किएका थिएनन्। गाउँमा एक्कासी भेल पस्यो। गाउँलेहरु सबै भागाभाग गर्न थाले। सबै आफ्नो ज्यान जोगाउनतिर लागे’ बिमलीले त्यो दिन सम्झिन्, ‘म पनि छोरा च्यापेर माथि रोडमा निस्कन लागेँ।  तर, बाढीको अगाडि मेरो केही जोर चलेन्। हेर्दाहेर्दै कमलु डुब्यो। बाहिर निकाले पनि उसलाई बचाउन सकिएन्।’

कमलुको निधनपछि २ दिनसम्म बिमली बेहोस भइन्। जब गाउँलेहरुले कमलुलाई पानीमा बगाउने कुरा गर्दै थिए।

जब उनको होस आयो कोही कमलुको बुवालाई पर्खने कुरा गर्दै थिए। कसैले मरेको मान्छे राख्नु हुन्न भन्दै थिए। कोही कसरी कहाँ जलाउने, कहाँ गाड्ने भन्दै थिए।’

बिमलीले कमलु बगाएको दिन सम्झिन्, ‘अन्ततः गाउँलेहरुले कमलुलाई कोशीमा बगाउने निर्णय गरे। मेलै रुँदै उसको बुवालाई पर्खनु भनेको कसैले सुनेनन्। कमलुलाई बगाउन लिएर गए। त्यसपछि म बेहोस भएँ। अरु के–के भयो मलाई थाहा भएन्।’

कमलु मरेपछिका पाँच दिन बेहोसीमै बितेको बिमली बताउँछिन्। उनले अहिलेसम्म केही खाएकी छैनन्। केही खान मन पनि छैन्।

कमलुका बुवा मंगलबार मात्र आए। कमलु मरेको ५ दिनसम्म मृत्यु संस्कार केही गरेको छैन्।

‘पैसा छैन कसरी मृत्यु संस्कार गर्नु। सबै जना शोकमा छन्। कहाँ के गर्नु? भावविह्वल भएर उनले सुनाइन्, ‘अब यहाँ धेरै खान नपाएर मर्ने अवस्थामा छन्। पैसा भए केही किनेर खान दिए उनीहरु बाँच्छन्। मर्नेको संस्कार पैसा भएपछि गरौँला।’

कमलुका बुवा फुदन धरानमा थिए। धरानमा पनि मुसलधारे पानी परिरहेको थियो। परिवारबारे सोचिरहेको बेला आएको फोनले उनको होस उड्यो। त्यो फोन उनको प्यारो छोरा कमलु मरेको खबर थियो।

फुदन छोरालाई बगाएको दुई दिनपछि घर आइपुगे। श्रीमती अचेत अवस्थामा थिइन्। जेठो छोरा लालकु आँसु झारिरहेको थियो। परिवारको त्यो दृश्य देखेर फुदन केही सोच्न नसकेको बताउँछन्।

धरानबाट फुदन २ दिनसम्म पैदल हिँडेर सप्तरी आएको बताउँछन्। गाडी चढ्न उनीसँग पैसा थिएन्। काम गरे बापत फुदनले साउसँग तीन हजार रुपैयाँ लिनु थियो। अनेक बिन्ती बिसाउँदा पनि साउले पैसा दिएन्। खल्तीमा एक पैसा नभएपछि उनी पैदल घर फर्किए। दुई दिन लगातारको हिँडाई र एक रात खुल्ला आकाशमुनि बास बसे। बाटोमा पनि सबै बस्ती डुबानमा थिए। आँखाभरि कमलु मात्र नाचिरहेको थियो।

‘सकसपूर्ण रह्यो दुई दिन। सकी–नसकी हिँडिरहेको थिएँ। खानालाई पैसा थिएन्। पानी दर्किरहेको थियो। पानी भेल तर्दै रुझ्दै म आइपुगेँ।’

उनले बाटोको कष्ट सम्झिए, ‘बाटोमा हुँदा कतिबेला घर पुगिएला जस्तो भएको थियो। यहाँ आएपछि परिवार र गाउँको अवस्था हेर्न सकिन।’

केही दिन अन्न पानी पेटमा पार्न नपाएका उनीहरु अहिले सहयोग रकम पाइरहेका छन्। आर्थिक सहयोग पाए पनि उनीहरुको घाउ ताजा छ। सन्तान विछोडको पीडा सँगसँगै घर बगाएकाले उनीहरु आगमी दिन कसरी सामना गर्ने सोचमग्न छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell