PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

यस्ता छन् पोखरा महानगरका बोर्ड बैठकका निर्णय, किन गर्‍यो कांग्रेसले बैठक बहिष्कार ?



पहिलोपोस्ट

यस्ता छन् पोखरा महानगरका बोर्ड बैठकका निर्णय, किन गर्‍यो कांग्रेसले बैठक बहिष्कार ?

  • नरहरि पौड्याल
पोखराः पोखरा लेखनाथ महानगरपालिकाको सातौं बोर्ड बैठकले पोखरा महानगरपालिकाको कार्यालय वडा नम्बर १२ माटेपानीस्थित पशु सेवा कार्यालय रहेको ठाउँमा निर्माण गर्ने निर्णय गरेको छ। 

वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा महानगरको भौतिक संरचना निर्माण गर्न उपयुक्त ठहराएको पशु सेवा कार्यालयको ९९ रोपनी क्षेत्रफल रहेको जग्गामा कार्यालय बनाउने निर्णय गरेको हो।

महानगरपालिकाले कार्यलय भवन निर्माणका लागि उपयुक्त स्थानको खोजी गर्न तीन सदस्यीय समिति बनाएको थियो। 

समितिले उपयुक्त ठहर गरेको जिल्ला पशु सेवा कार्यालयको जग्गा, नदीपुरस्थित नगर प्रशिक्षण केन्द्र र नयाँबजारस्थित प्रदर्शनी केन्द्र मध्येको जग्गा उपयुक्त हुने प्रतिवेदन बुझाएको थियो। 

सोही समितिले दिएको प्रतिवेदनका आधारमा सबैभन्दा उपयुक्त पशु सेवा कार्यालयको जग्गामा कार्यालय निर्माण गर्ने बोर्ड बैठकले निर्णय गरेको प्रमुख मानबहादुर जिसीले बताए। 

कांग्रेसद्वारा बैठक बहिष्कार
महानगरमा कांग्रेसकातर्फबाट निर्वाचित ११ वडा अध्यक्षहरुले महानगरपालिकाको बोर्ड बैठक  बहिष्कार गरेका छन्। बैठकमा महानगरपालिकाको संगठन स्वरुप, जनशक्ति एवं कर्मचारी पदपूर्ति बढुवा तथा स्थायी गर्ने सम्बन्धमा उपयुक्त निकास दिन यसअघि बनेको नेपाली कांग्रेसकातर्फबाट वडा नम्वर ६ का वडा अध्यक्ष जगत पहारी संयोजकत्वको समिति खारेज गरी उपमेयर मञ्जु गुरुङको संयोजकत्वमा अर्को समिति बनाएको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो।

त्यसैगरी दैवी प्रकोप उद्धार समितिका संयोजकलाई थाहा नै नदिई रकम निकासा गरिएको, फोहरमैला व्यबस्थापन गर्ने वडाको जिम्मेवारी हटाएर पुनः टेण्डर गरी एकीकृत रुपमा दिन लागेको, महानगरमा होर्डिङ बोर्ड नराख्ने निर्णय उल्टाएर ठेक्कामा होर्डिङ बोर्ड राख्न दिन लागेको, सेवा गर्न आएका जनप्रतिनीधिलाई तलब भत्ता दिनेलगायतका अलोकप्रिय प्रस्ताव आएको भन्दै उनीहरुले बैठक बहिष्कार गरेका हुन्। 

बसपार्क व्यवस्थापन समिति गठन
पृथ्वीचोकस्थित पोखराको पुरानो बसपार्क व्यवस्थापन गर्न बैठकले वडा नम्वर ७, ८, ९ र १० का वडा अध्यक्ष र पोखरा उपत्यका नगर विकास समितिका प्रतिनिधि रहेको समिति बनाएर व्यवस्थापनको जिम्मा दिने निर्णय गरेको छ। 

समितिले अध्ययन गरी बसपार्कको उचित व्यवस्थापनकावारेमा निर्णय दिने छ। पृथ्वीचोकमा व्यवस्थित वसपार्क नहुँदा यात्रुले हैरानी बेहोर्नुका साथै ट्राफिक व्यबस्थापन अस्तब्यस्त हुँदै आएको छ।

अध्ययन समिति गठन
बोर्ड बैठकले महानगरपालिकाको संगठन स्वरुप, जनशक्ति एवं कर्मचारी पदपूर्ति बढुवा तथा स्थायी गर्ने प्रयोजनको लागि उपयुक्त निकास दिन उपप्रमुख मञ्जु गुरुङको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको छ। 

समितिको सदस्यमा वडा नम्बर ६ का वडा अध्यक्ष जगतबहादुर पहारी, वडा नम्बर २१ का वडा अध्यक्ष खगराज आचार्य, महानगरपालिकाका बरिष्ठ कानून अधिकृत नारायणप्रसाद शर्मा र प्रशासन महाशाखा प्रमुख अनन्तप्रसाद कोइराला छन् ।

महानगरका वडामा क्षतिपूर्ति 
बैठकले हालै आएको बाढीबाट क्षति भएका विभिन्न वडाहरुको भौतिक संरचना निर्माणका लागि प्राविधिकको स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा कार्यालयबाट स्वीकृत बजेटबाट भुक्तानी दिने निर्णय गरेको छ। महानगर भित्रका वडामा वर्षा र बढी पहिरोबाट भएको भौतिक संरचना क्षतिपूर्ति स्वरुप रकमको व्यवस्था गरेको छ। 

मेयर जिसी दक्षिण कोरियामा हुने मेयर्स फोरममा सहभागी हुने 
बैठकले दक्षिण कोरियाको दाईजियन सहरमा सेप्टेम्बर १० देखि १३ सम्म सञ्चालन हुने ‘२०१७ एसिया प्यासिफिक सिटिज समीट एण्ड मेयर्स फोरम’ विषयक कार्यक्रममा सहभागी हुन मेयर मानबहादुर जिसीलाई पठाउने निर्णय गरेको छ। भ्रमण खर्च आयोजकले बेहोर्ने र पकेट खर्च भने सरकारको नियम बमोजिम मात्र उपलब्ध गराउने निर्णय बैठकले गरेको छ।

उपचारका लागि आर्थिक सहयोग
बैठकले तत्कालिन पोखरा उपमहानगरपालिका पदपूर्ति समितिका अध्यक्ष कृष्णप्रसाद बरालको उपचारार्थ ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। बराल लामो समयदेखि पदपूर्ति समितिमा कृयाशील रहेकाले सहयोग गर्नेे निर्णय बैठकले गरेको हो।  

ठेक्कापट्टा
महानगरपालिका भित्र पर्ने खानी, ढुङ्गा, गिट्टी सम्बन्धमा वातावरणीय प्रभाव मूल्यांकन गरेका र ठेक्का नलागेका ढुङ्गा, गिट्टी वा खानीहरुको ठेक्का बन्दोबस्त महानगरले गर्ने निर्णय गरेको छ। महानगरले दिगो आर्थिक व्यवस्थापनका लागि यस्ता स्थानहरुलाई ठेक्कामा लगाउने योजना बनाएको हो।

बाढीपीडितलाई सहयोग
बैठकले बाढी पहीरो पीडितको सहयोगार्थ राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा ३ लाख जम्मा गर्ने निर्णय गरेको छ। 

जम्मा गरिने कोष मध्येबाट रकम खर्च गर्ने निर्देशिका बनाउन महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेल, प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देल र बरिष्ठ कानून अधिकृत नारायणप्रसाद शर्मा रहेको समिति गठन गरेको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell