PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

डेङ्गुबाट पर्सामा १२ जना प्रभावित, कञ्चनपुरमा एक जनालाई कालाजार भएको पुष्टि



रासस

डेङ्गुबाट पर्सामा १२ जना प्रभावित, कञ्चनपुरमा एक जनालाई कालाजार भएको पुष्टि

वीरगञ्ज :  पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोका कारण पर्सामा चार महिलासहित १२ जना प्रभावित भएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। 

प्रभावित हुनेमा बारा प्रसौनीका २५ वर्षीया सलिमा खातुन, वीरगञ्जका २४ वर्षीया सुधा कुमारी, विरुवागुठी पकडियाका ३५ वर्षीया छटिया देवी र २१ वर्षीया पूजा कुमारी रहेका छन् भने पर्सा कटिबलुवाका १८ वर्षीय ज्ञानप्रकाश गुप्ता, सर्लाहीका २७ वर्षीय अर्नुज श्रेष्ठ, वीरगञ्जका ३५ वर्षीय रसिद आलम, ७२ वर्षीय कमल पटेल, २७ वर्षीय असलम, विराटनगरका १८ वर्षीय मन्सा साह, लालबन्दीका १५ वर्षीय अरुणकुमार साह र वीरगञ्ज नगवाका सात वर्षीय हरिनारायण चौधरी छन्। 

प्रभावितको नारायणी अञ्चल उपक्षेत्रीय अस्पताल, भवानी अस्पताल, नेशनल मेडिकल कलेजलगायतका स्वास्थ्य संस्था उपचार भइरहेको जनस्वास्थ्य अधिकृत राजकिशोर प्रसादले जानकारी दिए। सो रोग नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले वीरगञ्जका सवै वडामा लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । 
कञ्चनपुरमा कालाजारका बिरामी फेला परे
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका पदम चौधरीलाई कालाजार भएको पुष्टि भएको छ। कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा उनमा कालाजार भएको पुष्टि भएको हो। 

पदमका दाजु राजु चौधरीले भाइलाई कालाजार भएको पुष्टि भएकाले उपचारका लागि आर्थिक अभाव भएको बताए। निःशुल्क उपचारका लागि नगरपालिकाबाट सिफारिस बनाएपनि अझै खर्च जुटाउनु पर्ने अवस्था रहेको उनले बताए।

एक सातादेखि पदमलाई सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ। चिकित्सकका अनुसार सेन्डफ्लाइ नामक भुसुनाको टोकाइले सार्ने लिस्मेनिया नामक परजीवीको संक्रमणका कारण कालाजार हुने गर्छ।  लिस्मेनिया संक्रमित कुकुरलाई भुसुनाले टोकी मानिसलाई टोकेमा कालाजार हुने गर्दछ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell