डडेल्धुरा : स्थानीय निकायको निर्वाचन जितेको एक महिनामै परशुराम नगरपालिकाका प्रमुख सडक सुधारमा लगानी गरिरहेका छन्।
डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले आफ्नै लगानीमा विभिन्न सडकमा ग्राभेल गर्ने कार्य सुरु गरेका छन्।
सडकमा खाल्डाखुल्डी र हिलाम्य भई सर्वसाधारणले कष्टकर जीवन भोग्न थालेपछि जनताको समस्यालाई मध्यनजर गर्दै उनले निजी लगानीमा ग्राभेल गरेका हुन्।
नगरपालिकाबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने बताउँदै आएका साउदले उक्त रकम जनताको र नगर कमिटीको सहमतिमा नगरको विकासमा खर्च गर्ने समेत बताउँदै आएका छन्।
परशुराम नगरपालिकाका प्रमुख साउदको व्यक्तिगत लगानीमा परशुराम नगरपालिकाका–१, २ र ४ का ग्रामीण सडकमा ग्राभेल गरिएको हो।
परशुराम नगरपालिकाको जोगबुडा रुपाल सडकखण्ड र कटालको कालिगोई बजार जोड्ने तथा लालढुंगा बजारदेखि गोजा कटाल जोड्ने करिब ५०० मिटर ग्रामीण सडक खण्डमा ग्राभेल गरिएको परशुराम नगरपालिका–१२ का वडा अध्यक्ष गणेशप्रसाद जोशीले बताए।
खाल्डाखुल्डी भएको ग्रामीण सडकमा ग्राभेल गरिएसँगै स्थानीय बासिन्दालाई आवतजावतमा सहज भएको स्थानीय कलावती भट्टराईले जानकारी दिइन्।
जनताका समस्यालाई समाधान गर्न आफू तयार रहेको प्रमुख साउदको भनाइ छ। रासस